-रेशम सापकोटा
माडी । माडी नगरपालिका–८ खरकट्टामा रहेको जनजीवन माध्यमिक विद्यालयको ५९ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह आज विद्यालय परिसरमा भव्य र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खेमराज गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा ताराकुमारी काजी महतोको उपस्थिति रहनु भएको थियो भने विशिष्ट अतिथिको रूपमा सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक जनक पुरी सहभागी हुनुहुन्थ्यो।

अतिथिमा माडी नगरपालिका–८ का वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारी, माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटा, वडा सदस्य अनिता सेडाई, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष नारायणमणि पौडेल, पूर्व प्रधानाध्यापक सूर्यनाथ अधिकारी, जनकल्याण माध्यमिक विद्यालयका प्रधानाध्यापक रामबहादुर जिसी, आधारभूत विद्यालय जगन्नाथपुरका प्रधानाध्यापक केशवराज अधिकारी, आधारभूत विद्यालय दक्षिण अयोध्यापुरीका व्यवस्थापन समिति अध्यक्ष आइत सिंह तामाङ, आधारभूत विद्यालय देवेन्द्रपुरका प्रधानाध्यापक उपेन्द्र निरौला, अयोध्यापुरी महिला साना किसान सहकारी संस्थाकी अध्यक्ष सरस्वती काफ्ले, छिमेक लघुवित्त माडी शाखाका प्रमुख निलमणि डल्लाकोटी, बुद्धिजीवी एवं शिक्षाप्रेमी वीरबहादुर अधिकारी तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत अतिथिका रूपमा सहभागिता रहेको थियो।

कार्यक्रमको औपचारिक समुद्घाटन प्रमुख अतिथि ताराकुमारी काजी महतोले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। विद्यालयकी प्रधानाध्यापक अमृता केसीले स्वागत मन्तव्यसहित विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतदेखि हालसम्म विद्यालयले हासिल गरेका उपलब्धि र आगामी योजनाबारे जानकारी गराउनुभयो। अतिथिहरूलाई विद्यालयका शिक्षिका दीपा गौतम र शर्मिला ज्ञवालीले ब्याज वितरण गरी सम्मान व्यक्त गर्नुभएको थियो।
स्वागतका क्रममा शिक्षिकाहरू रिता अधिकारी, बबिता पोखरेल, मन्जु भण्डारी, कामना सापकोटा र सीता रसाइलीले संयुक्त रूपमा स्वागत गीतमा नृत्य प्रस्तुत गरी वातावरणलाई सांगीतिक बनाएका थिए भने विद्यालयको स्काउट टोलीले अतिथिहरूलाई सलामी अर्पण गरेको थियो। विद्यार्थीहरूले विभिन्न गीत तथा आकर्षक नृत्य प्रस्तुत गर्दा कार्यक्रमस्थल ताली र हर्षध्वनिले गुञ्जायमान बनेको थियो।

विद्यालयले स्थापना गरेका विभिन्न अक्षय कोषमार्फत उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान तथा नगद राशिसहित पुरस्कृत गरिएको थियो। लामो समय विद्यालयमा सेवा पुर्याएका लेखापाल गोविन्द प्रसाद पन्त र नित्य शिक्षिका खुस्बु आचार्यलाई सम्मान तथा विदाई गरिएको थियो। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने शिक्षक काशीनाथ सापकोटालाई विशेष सम्मान गरिएको थियो। कक्षा १० मा शतप्रतिशत नतिजा ल्याउन सफल शिक्षकमध्ये ऐच्छिक गणितका सरस्वती टी., सामाजिक विषयका नारायण दुबे, नेपाली विषयका मधुसुदन रेग्मी, लेखा विषयका कमलराज सापकोटा तथा कम्प्युटर विषयका कृष्ण सुवेदी सम्मानित भएका थिए। त्यसैगरी कक्षा १२ मा शतप्रतिशत नतिजा ल्याउने ऐच्छिक अङ्ग्रेजीका प्रकाश जिसी र अर्थशास्त्र विषयका शर्मिला ज्ञवालीलाई पनि सम्मान गरिएको थियो।

पूर्व प्रधानाध्यापक सूर्यनाथ अधिकारीले आफ्नो लामो शिक्षण अनुभव स्मरण गर्दै अहिले विद्यालयका भवनहरू पहिलेभन्दा सुविधा सम्पन्न बनेको र पढाइको गुणस्तर उल्लेखनीय रूपमा उकासिएको बताउनुभयो। आफूले पढाएका विद्यार्थीहरू आज डाक्टर, पाइलट तथा प्रहरीका वरिष्ठ अधिकृत बनेर बाटोमा भेट्दा ‘सर नमस्कार’ भन्ने गरेको प्रसंग उल्लेख गर्दै उहाँले त्यसबाट आफूलाई अत्यन्त गर्व हुने गरेको बताउनुभयो र विद्यालयको उज्ज्वल भविष्यको कामना गर्नुभयो।

माडी प्रज्ञा प्रतिष्ठानका अध्यक्ष नारायण सापकोटाले वार्षिक उत्सवलाई केवल सांस्कृतिक कार्यक्रमका रूपमा नहेरी शैक्षिक समीक्षा, उपलब्धिको मूल्याङ्कन र आगामी कार्यदिशा तय गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले भाषा, साहित्य र संस्कृतिको संरक्षण, पुस्तकालय सुदृढीकरण, सिर्जनात्मक लेखन, अतिरिक्त क्रियाकलाप तथा समुदाय–विद्यालय सहकार्यमार्फत गुणस्तरीय शिक्षा सम्भव हुने उल्लेख गर्नुभयो। प्रमुख अतिथि ताराकुमारी काजी महतोले विद्यालयका पुराना भवनहरूलाई आधुनिक र सुविधा सम्पन्न बनाउन नगरपालिकाले प्रदेश तथा संघीय सरकारस्तरमा पहल भइरहेको जानकारी दिँदै शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।
विद्यालय सफा, सुन्दर र अनुशासित रहेको उल्लेख गर्दै उहाँले विद्यालय व्यवस्थापन समिति, शिक्षक, कर्मचारी तथा अभिभावकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि जनक पुरी, जो यसै विद्यालयका भूपू विद्यार्थी समेत हुनुहुन्छ, उहाँले विद्यार्थीहरूको खेल प्रतिभा विकासका लागि भलिबल, फुटबल, बास्केटबल, ब्याडमिन्टन, टिटि लगायतका खेलकुद सामग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गर्नुभएको थियो। उहाँको सहयोग विद्यालय परिवारका लागि प्रेरणादायी र सराहनीय बनेको छ। कार्यक्रमको सञ्चालन शिक्षक रामप्रसाद भण्डारीले गर्नुभएको थियो। ५९ वर्षको शैक्षिक यात्रा पार गरेको जनजीवन माध्यमिक विद्यालयले यस उत्सवमार्फत शैक्षिक उपलब्धि, समुदायसँगको सहकार्य र भविष्यप्रतिको स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै आफ्नो गरिमामय इतिहासलाई थप सुदृढ बनाएको छ।–00–


