बोटलर्स नेपाल तराई लिमिटेडको समग्र ट्रेड युनियन नेपालको १९औँ बार्षिक साधारण सभा सौराहामा सम्पन्न

चितवन । समग्र उद्योग ट्रेड युनियन नेपालको १९औँ साधारण सभा चितवनको पर्यटकीय क्षेत्र सौराहामा सम्पन्न भएको छ। साधारण सभामा मजदुर आन्दोलनलाई समयानुकूल सशक्त बनाउँदै एकता र संगठनात्मक मजबुतीका साथ अगाडि बढ्नुपर्नेमा जोड दिइएको छ।

एकाई कमिटी बोटलर्स नेपाल तराई लिमिटेडका अध्यक्ष विजय चौधरीको अध्यक्षतामा सम्पन्न सभामा बागमती प्रदेशसभा सदस्य तथा जिफन्ट चितवन जिल्ला समिति अध्यक्ष सुशील नेपाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा विशिष्ट अतिथि संस्थापक अध्यक्ष प्रेम थपलिया, पूर्व अध्यक्ष कृष्णराज श्रेष्ठ तथा भरतपुर महानगरपालिका इन्चार्ज भगवान मल्ललगायतले मन्तव्य राख्नु भएको थियो।

प्रमुख अतिथिले मन्तव्यका क्रममा मजदुर आन्दोलनलाई अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउनु भयो। उहाँले मजदुर अधिकारको संरक्षण र सुनिश्चितताका लागि सबै मजदुर एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनु भयो।

अन्य वक्ताहरूले उद्योग क्षेत्रमा कार्यरत मजदुरले भोग्दै आएका समस्या, ट्रेड युनियनको भूमिका तथा संगठनलाई थप मजबुत बनाउँदै लैजाने विषयमा आफ्ना धारणा राखेका थिए।

सभामा आर्थिक प्रतिवेदन संस्था का कोषाध्यक्ष टीका रेग्मी र प्रगति प्रतिवेदन सचिव शिव लामिछानेले प्रस्तुत गर्नुभएको थियो।

समग्र उद्योग ट्रेड युनियनको १९औँ साधारण सभा यसपटक चितवनको पार्टी कार्यालयमा नगरी पर्यटकीय क्षेत्र सौराहामा आयोजना गरिएको आयोजकले जनाएको छ।

 

 

 

 

Share:

सम्बन्धित समाचारहरु