-सुवास घिमिरे। सेतोनेपाल
चितवन, २ माघ। चितवनको भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ । ६ तले आकर्षक भवनको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका हुन् ।
भवनको भुइँ तलासम्मका इन्टेरियरका काम सम्पन्न भइसकेपछि उद्घाटन गरिएको नगर प्रमुख रेणु दाहालले जानकारी दिइन् । माथिल्ला तलाहरूमा भने केही इन्टेरियरका काम बाँकी रहेका छन् ।
५३ करोड ३२ लाख ६४ हजार रुपैयाँ लागतमा निर्माण भएको उक्त भवनमा संघ, प्रदेश र स्थानीय तहको संयुक्त लगानी रहेको छ । संघीय सरकारबाट २१ करोड ५८ लाख १४ हजार, बागमती प्रदेश सरकारबाट १९ करोड ८९ लाख ३६ हजार र भरतपुर महानगरपालिकाबाट ४ करोड ५० लाख रुपैयाँ खर्च भइसकेको छ ।

महानगरपालिकाको शहरी पूर्वाधार विकास महाशाखाका प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार भवन निर्माण कार्य सुरु भएको करिब दुई वर्षमा सम्पन्न गरिएको हो । भवन निर्माणका लागि पर्याप्त जमिन नपुगेपछि नेपाल नेत्र ज्योती संघले भोगचलन गर्दै आएको १ विगाहा १५ धुर जग्गा सम्झौतामार्फत थप गरिएको थियो । नगर प्रमुख दाहालले संघसँग जग्गा प्राप्त गर्ने प्रक्रिया निकै मेहनत र चुनौतीपूर्ण रहेको बताइन् । भवनको शिलान्यास २०७८ चैत ११ गते पूर्व प्रधानमन्त्री प्रचण्डले गरेका थिए । २०४३ सालमा बनेको पुरानो र जीर्ण भवनलाई मर्मत गरी महानगर सञ्चालन हुँदै आएको थियो । उक्त पुरानो भवन गत भदौ २४ गते जेनजी आन्दोलनको नाममा भएको तोडफोड र आगजनीपछि पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो ।

नयाँ प्रमुख प्रशासकीय भवन ७ कठ्ठा क्षेत्रफलमा फैलिएको छ । भवनमा जम्मा २२१ कोठा रहेका छन् । भूमिगत पार्किङमा ५० वटा कार र १५० वटा मोटरसाइकल अट्ने क्षमता छ । भुइँ तलामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका कार्यकक्ष रहेका छन् भने दोस्रो तलामा नगर उपप्रमुखको कार्यकक्ष रहेको छ । भवनमा २ वटा लिफ्ट, ३ वटा भित्री सिँढी र २ वटा बाहिरी सिँढी रहेका छन् । २५० र ३५० जनासम्म अट्ने दुई ठूला हलसहित विभिन्न महाशाखा र शाखाका लागि साना–ठूला गरी १५८ कोठा रहेका छन् । बैठक कक्ष मात्र ८ वटा छन्, प्रत्येक तलामा दुई–दुई वटा बैठक कक्ष व्यवस्था गरिएको छ ।

यस भवनमा ज्येष्ठ नागरिक प्रतीक्षा कक्ष, पुस्तकालय, सांस्कृतिक प्रदर्शनी कक्ष, सभाहल तथा माथिल्लो तलामा अडिटोरियम हल र सांस्कृतिक संग्रहालय (कल्चरल म्युजियम) रहने व्यवस्था गरिएको छ । हरेक तलामा अपाङ्गमैत्री शौचालयसहित पुरुष र महिलाका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था छ ।
पूर्ण रूपमा अपाङ्गमैत्री यो भवनले आगामी झण्डै एक सय वर्षसम्म भरतपुरवासीलाई सेवा प्रदान गर्ने नगर प्रमुख दाहालको विश्वास छ । उनले भनिन्, “अब महानगरका सबै सेवा एकै ठाउँबाट प्रवाह गर्न सहज हुनेछ । यो भवन भरतपुर महानगरको गौरवका रूपमा स्थापित हुनेछ ।” भवन शर्मा–सगरमाथा–सगुन जेभीले निर्माण गरेको हो । निर्माण कम्पनीका प्रमुख सहदेव खड्काका अनुसार यो भवन नेपाली मौलिकता झल्किने शैलीमा निर्माण गरिएको छ ।

–00—


