काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी केही समयअघि दुर्घटनामा परे पनि त्यसबाट चोखिएर र सफा भएर बाहिर आउन सफल भएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी)सँग एकता घोषणा गर्दै अध्यक्ष घिसिङले करिब १२ दिन पार्टीका लागि अत्यन्तै कठिन समय रहेको उल्लेख गरे । उनले अँध्यारो अवस्थाबाट बाहिर निस्किन १२ दिन लागेको र त्यो समय पार्टीका लागि चुनौतीपूर्ण भए पनि अहिले पार्टी थप सशक्त र स्पष्ट दिशासहित अघि बढेको बताए ।
अध्यक्ष घिसिङले पार्टी अब पूर्ण रूपमा सफा भइसकेको दाबी गर्दै देशलाई पनि सफा र उज्यालो बनाउने अभियानमा गम्भीर रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे । उज्यालो नेपाल पार्टी नयाँ शक्तिको प्रतिनिधि भएको उल्लेख गर्दै उनले अन्य राजनीतिक दलहरू पुराना भइसकेको धारणा राखे ।
उनका अनुसार जेनजी (Gen Z) आन्दोलनको म्यान्डेटलाई सम्बोधन गर्नकै लागि उज्यालो नेपाल पार्टी स्थापना गरिएको हो । नयाँ पुस्ताको भावना, चाहना र एजेन्डालाई राजनीतिमा स्थापित गर्ने लक्ष्य पार्टीको रहेको उनले बताए ।
कार्यक्रममा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ र राष्ट्रिय परिवर्तन पार्टी (युनाइटेड जेन्जी) का अध्यक्ष राजेश पोर्तेलबीच एकतासम्बन्धी सहमतिपत्र आदान–प्रदान गरिएको थियो ।


