पार्किङ शुल्कले चर्कियो विवाद, शुल्क घटाउन रत्ननगर महोत्सवलाई सिडिओको निर्देशनमा

चितवन – रत्ननगर महोत्सव २०८२ मा अत्यधिक पार्किङ शुल्क लिइएको विषयले स्थानीय स्तरमा मात्र नभई सामाजिक सञ्जालमा समेत चर्को विवाद उत्पन्न भएको छ।

महोत्सवको पहिलो दिनदेखि मोटरसाइकलका लागि ४० रुपैयाँ पार्किङ शुल्क तोकिएपछि आगन्तुकहरूले त्यसलाई मनपरी र अस्वाभाविक रूपमा बढी भएको प्रतिक्रिया जनाएका थिए।

पार्किङ शुल्कसम्बन्धी गुनासो सार्वजनिक भएपछि चितवनका प्रमुख जिल्ला अधिकारी (सिडीओ) गणेश अर्यालले आयोजक संस्था उद्योग वाणिज्य संघ रत्ननगरका अध्यक्ष शंकर गिरीसँग फोनमार्फत सम्पर्क गरी शुल्क आधा मात्र लिन निर्देशन दिएका छन्।

सिडीओ अर्यालले जनहितको विषय भएकाले आफू यस विषयमा गम्भीर रहेको बताउँदै मोटरसाइकलसहित साना तथा ठूला सवारी साधनका लागि निर्धारण गरिएको पार्किङ शुल्कबारे सार्वजनिक सूचना जारी गर्न समेत आयोजकलाई निर्देशन दिएको बताए।

आयोजक संघका अध्यक्ष गिरीले सिडीओको निर्देशन र आम जनताको प्रतिक्रियालाई ध्यानमा राख्दै पार्किङ शुल्क आधा घटाउने निर्णय गरिएको जानकारी दिए। “आगन्तुकहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै पार्किङ शुल्क घटाइएको हो,” उनले भने।
यसअघि महोत्सवमा तोकिएको पार्किङ शुल्कप्रति स्थानीयवासी र आगन्तुकहरूले तीव्र असन्तुष्टि जनाएका थिए।

विशेषगरी मोटरसाइकल र साना सवारी साधनका लागि लिइएको शुल्क अत्यधिक भएको भन्दै व्यापक आलोचना भएको थियो। शुल्क घटाउने निर्णयपछि आयोजकले पार्किङ व्यवस्थापनलाई थप व्यवस्थित र पारदर्शी बनाउने प्रतिवद्धता जनाएका छन्।

Share:

सम्बन्धित समाचारहरु