काठमाडौं, १५ साउन । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले नयाँ अध्यक्ष चयन गरेको छ। पार्टीको संरक्षक रेशम चौधरी पक्षको राष्ट्रिय भेलाले लालवीर चौधरीलाई अध्यक्षमा चयन गरेको हो।
यसअघि अध्यक्ष रहेका रञ्जीता श्रेष्ठलाई हटाएर रेशम चौधरीका पिता लालवीरलाई अध्यक्ष बनाइएको हो। राष्ट्रिय भेलाले बुधबार रञ्जीतालाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो। नयाँ अध्यक्ष चयन भएपछि लालवीर चौधरीले पार्टीलाई विधि, विधान र संस्थागत प्रक्रियाअनुसार अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
उनले पार्टीभित्र देखिएको समस्या समाधानका लागि आफू गम्भीर रहेको उल्लेख गर्दै रञ्जीता श्रेष्ठलाई पनि आफ्नो पक्ष राख्न सुझाव दिएका छन्।
राष्ट्रिय भेलामा बोल्दै अध्यक्ष चौधरीले डेड वर्षदेखि पार्टीको औपचारिक बैठक नबसेको र त्यसका कारण संगठनात्मक गतिविधि ठप्प भएको बताए। यस्तो अवस्थामा राष्ट्रिय भेलामार्फत् पार्टीलाई निकास दिने प्रयास गरिएको उनको भनाइ छ।
उनले पार्टी कमिटीको सुझाव र सल्लाहको आधारमा आगामी कार्यदिशा तय गरिने स्पष्ट पारे।


