चितवन, २१ पुस । एड्भरटाइजिङ सर्भिस प्रालि सेन्टर (एसएमसी) नामक कम्पनीको नाममा नेटवर्क विस्तार गर्दै अनलाइन स्क्यामिङ गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकसहित १० जनाको गिरोहलाई पक्राउ गरेको छ।
चितवनको खैरहनीमा एसएमसी कम्पनी खडा गरी मोबाइल एप्लिकेसनमार्फत् नेपाली नागरिकलाई नेटवर्कमा आबद्ध गराउँदै ठगी गरेको आरोप यो समूहलाई लागेको हो। प्रहरीको साइबर ब्यूरोले गरेको अनुसन्धानअनुसार गिरोहले नेपालभर ७० हजारभन्दा बढी नागरिकलाई आफ्नो नेटवर्कमा जोडेको पाइएको छ।
पक्राउ पर्नेमा चिनियाँ नागरिक हि जियाङ, रामेछापका मिलन श्रेष्ठ, तनहुँ बन्दिपुरका सौगात थापा, नुवाकोटका वीरबहादुर तामाङ, चितवन खैरहनीकी सोनम खातुन, काठमाडौं टोखाकी प्रिया केसी, गुल्मीकी मोनिका गुरुङ, धादिङकी गीता गुरुङ, पर्साका नसिर मियाँ अन्सारी र सायरा खातुन तथा बारा कलैयाका राम निवास प्रसाद रहेका छन्।
प्रहरीमा परेको उजुरीअनुसार हालसम्म २५५ जना पीडितबाट १२ करोड ८ लाख १६ हजार ३ सय ७२ रुपैयाँ ठगी भएको देखिएको छ। गिरोहले एउटै परिवारका धेरै सदस्यलाई लक्षित गरी ठगी गर्दै आएको अनुसन्धानबाट खुलेको छ।
कानूनी वैधताको झुटा विवरण प्रस्तुत गरी कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको प्रमाणपत्र देखाउँदै विश्वास जित्ने प्रयास गरिएको थियो। साथै, विश्वप्रसिद्ध फिल्म कम्पनी युनिभर्सल, वार्नर ब्रदर्स र डिज्नी जस्ता संस्थासँग सहकार्य रहेको भन्दै चलचित्रको विज्ञापन गरेबापत रकम पाइने झुटो आश्वासन दिएर एसएमसी नामक मोबाइल एपमा सर्वसाधारणलाई आबद्ध गराइएको प्रहरीले जनाएको छ।
साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिपक राज अवस्थीका अनुसार गिरोहले पिरामिड संरचना बनाएर ठगी गर्दै आएको थियो। सदस्यलाई तीन तहमा विभाजन गरी नयाँ सदस्य भर्ना गरेबापत आकर्षक कमिसनको प्रलोभन देखाइएको अनुसन्धानबाट खुलेको छ।
अवस्थीका अनुसार लेभल ‘ए’ का सदस्यलाई निक्षेपमा १२ प्रतिशत कमिसन र दैनिक कामबाट पाँच प्रतिशत मुनाफा, लेभल ‘बी’ लाई चार प्रतिशत कमिसन र दैनिक दुई प्रतिशत मुनाफा तथा लेभल ‘सी’ लाई निक्षेपमा एक प्रतिशत कमिसन र दैनिक एक प्रतिशत मुनाफा दिने आश्वासन दिइएको थियो।
‘कुनै वास्तविक काम नगरी नयाँ सदस्यको रकमबाट पुराना सदस्यलाई प्रतिफल दिने पोन्जी मोडल अपनाएको देखिन्छ,’ अवस्थीले भने, ‘ब्ल्याक रकजस्ता काल्पनिक कोषमा लगानी गरे एक दशमलव दुई प्रतिशत प्रतिफल दिने भन्दै ठगी गरिएको पाइएको छ।’
साइबर ब्यूरोले पक्राउ परेकाविरुद्ध संगठित अपराध सजाय ऐन, २०७० तथा मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अनुसन्धान भइरहेको जनाएको छ। साथै, अनलाइन ठगीबाट बच्न सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।–00–

