चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा,२५० स्टल, २ लाख दर्शक र २५ करोडको कारोबार लक्ष्य

गैँडाकोट । पुस २५ गतेदेखि सुरु हुने चौथो गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा हुन लागेको महोत्सवले स्थानीय उद्योग, व्यापार, कृषि, पर्यटन र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सव मूल आयोजक समितिका संयोजक तथा उद्योग वाणिज्य संघ गैँडाकोटका वरिष्ठ उपाध्यक्ष छबिलाल कंडेलका अनुसार हालसम्म करिब ६० प्रतिशत तयारी कार्य सम्पन्न भइसकेको छ। बाँकी तयारी तीव्र गतिमा अघि बढिरहेको उहाँले जानकारी दिनुभयो।

“महोत्सवका भौतिक संरचना, स्टल व्यवस्थापन, सुरक्षा योजना र सांस्कृतिक कार्यक्रमको तालिका लगभग टुंगिएको छ। बाँकी कार्य समयमै सम्पन्न गर्ने गरी सबै उपसमितिहरू सक्रिय रूपमा लागिरहेका छन्,” कंडेलले बताउनुभयो।

आयोजकका अनुसार महोत्सवमा करिब २५० स्टल रहनेछन् भने २ लाखभन्दा बढी दर्शकको सहभागिता रहने अनुमान गरिएको छ। महोत्सव अवधिमा २५ करोड रुपैयाँभन्दा बढी आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। नेपालका विभिन्न जिल्लाका उद्योगी–व्यवसायीसँगै भारत, पाकिस्तान र बंगलादेशका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ।

महोत्सव स्थललाई प्रदर्शनी तथा बिक्री कक्ष, सांस्कृतिक तथा सांगितिक क्षेत्र, बाल उद्यान तथा मनोरञ्जन क्षेत्र र खानपान क्षेत्र गरी चार मुख्य भागमा विभाजन गरिएको छ। अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, इलेक्ट्रोनिक्स, कृषि तथा जडिबुटी, हस्तकला, तयारी पोशाक तथा दैनिक उपभोग्य वस्तुका स्टलहरू रहने आयोजकले जनाएको छ।

उद्योग वाणिज्य संघ गैँडाकोटका महासचिव तेजनारायण पान्डेले महोत्सवले स्थानीय उद्यमी र किसानलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो।
“यो महोत्सव स्थानीय उत्पादनलाई बजारसँग जोड्ने सशक्त माध्यम हो। उद्यमी, किसान र व्यवसायीले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने ठूलो अवसर पाउनेछन्,” उहाँले भन्नुभयो।

त्यसैगरी प्रचार–प्रसार समितिका संयोजक शालिकराम सापकोटाले महोत्सवलाई राष्ट्रियस्तरमा चिनाउन व्यापक प्रचार अभियान सञ्चालन भइरहेको जानकारी दिनुभयो।
“सामाजिक सञ्जाल, डिजिटल मिडिया, छापा तथा स्थानीय एफएममार्फत प्रचार भइरहेको छ। गैँडाकोटलाई व्यापार र पर्यटनको केन्द्रका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य हो,” सापकोटाले बताउनुभयो।

महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति, फेशन शो, विद्यालय तथा सांस्कृतिक समूहका कार्यक्रम समावेश गरिनेछ। बाल उद्यान क्षेत्रमा मनोरञ्जनात्मक खेल सामग्रीसँगै जलपरी र माछाका एक्वेरियम विशेष आकर्षणका रूपमा रहनेछन्।

सुरक्षालाई ध्यानमा राख्दै महोत्सव स्थलमा सिसिटिभी निगरानी, एम्बुलेन्स, प्राथमिक उपचार सेवा, पार्किङ तथा सरसफाइको उचित व्यवस्था गरिने आयोजकले जनाएको छ। आयोजकले महोत्सव सफल बनाउन सम्पूर्ण स्थानीयवासी, व्यवसायी, संघ–संस्था तथा सरोकारवालाको सक्रिय सहभागिता र सहयोगको अपिल गरेका छन्।–000–

Share:

सम्बन्धित समाचारहरु