सुधन गुरुङले आफ्नै गाडीमा कुलमानलाई पुर्‍याए वार्तास्थल, रवि–कुलमान–बालेनबीच छलफल

काठमाडौं । हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नै गाडीमा राखेर वार्तास्थल पुर्‍याएका छन् । त्यसपछि कुलमान र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल सुरु भएको हो ।

स्रोतका अनुसार वार्तामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) पनि सहभागी छन् । तीन जनाबीच सहकार्य र राजनीतिक समझदारीबारे केन्द्रित रहेर संवाद भइरहेको बताइएको छ ।

यसअघि रास्वपा केन्द्रीय समितिको बैठकपछि रवि लामिछाने वार्ताका लागि बौद्ध क्षेत्र पुगेका थिए । उता कुलमान घिसिङलाई भने संयोजक सुधन गुरुङले आफ्नै गाडीमा राखेर वार्तास्थलसम्म पुर्‍याएको एक जेनजी अगुवाले जानकारी दिए ।
“सुधनजीले कुलमानलाई गाडीमा राखेर वार्तास्थलसम्म पुर्‍याउनुभएको हो । अहिले तीनजनाबीच वार्ता चलिरहेको छ,” ती अगुवाले बताए । वार्तास्थल बाहिर भने द काउन्सिल अफ जेनजीका सदस्यहरू सुधन गुरुङ र ओजस्वी थापा समेत उपस्थित छन् । उनीहरू वार्ताको प्रगतिबारे जानकारी लिन बाहिर प्रतीक्षामा रहेको बताइएको छ ।

रवि–कुलमान भेटवार्तालाई पछिल्लो समयको महत्वपूर्ण राजनीतिक घटनाक्रमका रूपमा हेरिएको छ । यसअघि केही विषयमा मतभेद देखिए पनि पछिल्लो वार्ता सकारात्मक दिशातर्फ अघि बढिरहेको स्रोतहरूको दाबी छ । अब यस भेटघाटबाट औपचारिक सहमति जुट्छ कि जुट्दैन, त्यसतर्फ राजनीतिक वृत्तको चासो बढेको छ ।–00–

Share:

सम्बन्धित समाचारहरु