पूर्ण महतो । सेतोनेपाल
जापान । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा प्रवासी नेपाली मञ्च क्षेत्रीय कमिटी, गुनमाकेन् जापानद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रम प्रवासी नेपाली मञ्च गुनमाकेन् क्षेत्रीय कमिटीकी अध्यक्ष ममता विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका उपाध्यक्ष बाबुराम भण्डारीको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन कमिटीका सचिवले गर्नुभएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटी सदस्य तथा गुनमाकेन् इन्चार्ज बुद्धि राज लामाले वर्तमान राजनीतिक अवस्था, प्रवासमा रहेका नेपालीहरूले देशको राजनीति बुझ्नुपर्ने आवश्यकता र विदेशमा रहेर पनि नेपाली संस्कृति तथा परम्पराको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले जापानमा सुख–दुःखमा परेका नेपालीहरूलाई कमिटीले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सामाजिक सेवामा मानवीय चेतनासहित लाग्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि बाबुराम भण्डारीले नेपालमा विद्यमान राजनीतिक अवस्थाबारे जानकारी गराउँदै विगतको तुलनामा नेकपा एमाले सरकारमा रहँदा देशमा उल्लेखनीय विकास भएको उल्लेख गर्नुभयो। उहाँले प्रवासमा रहेर पनि नेपालको राजनीति र विकासमा सकारात्मक योगदान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै जापानमा प्रवासी नेपाली मञ्च कानुनी रूपमा दर्ता भई वैधानिक रूपमा सञ्चालनमा रहेको जानकारीसमेत दिनुभयो।
कार्यक्रममा प्रवासी नेपाली मञ्च राष्ट्रिय कमिटीका सल्लाहकार सिद्धार्थ श्रेष्ठले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम सफल बनाउन सल्लाहकार, युवा व्यवसायी तथा सामाजिक व्यक्तित्व सुरेन्द्र गिरिको विशेष सहयोग रहेको आयोजकले जनाएको छ।
उक्त कार्यक्रम जापानको साइतामा प्रान्त अन्तर्गत कुमागया सहरस्थित ‘नमस्ते निहोन’ रेस्टुरेन्टमा सम्पन्न भएको थियो। साथै सल्लाह सदस्य तथा युवा व्यवसायी नसिर मियाँले कार्यक्रम आयोजनामा महत्वपूर्ण सहयोग पुर्याउनुभएको थियो।
कार्यक्रमले जापानमा रहेका नेपालीहरूबीच आपसी एकता, सद्भाव र संगठनात्मक मजबुतीलाई थप सुदृढ बनाएको आयोजकले बताएका छन्।—00–


