रवि लामिछाने–बालेन शाहबीच ७ बुँदे सहमति, प्रधानमन्त्रीको उम्मेदवार बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच ७ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ। सहमतिपत्रमा दुवै पक्षले आगामी प्रतिनिधि सभा निर्वाचनपछिको राजनीतिक कार्यदिशा, नेतृत्व र नीतिगत प्राथमिकताबारे स्पष्ट खाका प्रस्तुत गरेका छन्।

सहमति अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधि सभाको निर्वाचनपछि बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्नेछ। पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र संगठनात्मक संरचना भने यथावत् राष्ट्रिय स्वतन्त्र पार्टीकै रहने सहमतिमा उल्लेख छ। पार्टीको केन्द्रीय सभापति रवि लामिछाने नै रहनेछन्।

सहमति पत्रमा नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिने र आन्दोलनका क्रममा घाइते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाइएको छ। साथै नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन हासिल गर्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र इमानदार रूपमा कार्यान्वयन गर्ने उल्लेख गरिएको छ।

बृहत् एकता पश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै रहने, दलको झण्डा साबिककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो रंगको घण्टीको आकृति रहने, चुनाव चिन्ह घण्टी रहने र केन्द्रीय कार्यालय काठमाडौं उपत्यकामा रहने सहमति भएको छ। प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने उल्लेख सहमतिपत्रमा छ।

त्यसैगरी बृहत् एकतापछि पार्टी संगठनलाई थप सक्षम र फराकिलो बनाउँदै युवा अभियन्ता तथा अनुभवी विज्ञहरूलाई समुचित रूपमा समायोजन गरिने र जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाइने सहमति भएको छ।

यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ। साथै पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने निर्णय पनि गरिएको छ।

हस्ताक्षर कार्यक्रममा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल र असिम शाह तथा बालेन शाह पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भुपदेव शाह र सुदीप ढकाललगायतको उपस्थिति रहेको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु