कालिका, २० जेठ । कलिका नगरपालिकामा रहेको पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता समुहमा जेठ २३ गते निर्वाचन हुने भएको छ ।
यो पटक नेकपा एमाले र नेपाली काँग्रेसले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा जाँदैछन् । एमाले र काँग्रेको संयुक्त प्यानलवाट टिकाराज रिजाल अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । यस्तै एमाले र काँग्रेसको संयुक्त प्यानलसँग भिड्न नेकपा माओवादी र राष्ट्रिय स्वतन्त्रपार्टीबीच तालमेल भएको छ । यिनीहरुले लक्ष्मी प्रसाद धिताललाई अध्यक्षका उम्मेदवार बनाएका छन् ।
गत जेठ १५ गते भएको साधारण सभा एवम् छैटौँ अधिवेशनमा नेतृत्व छनौटमा सहमती हुन नसकेपछि निर्वाचन प्रकृयामा गएको हो । कालिका नगरपालिका वडा नं.२, ३, ४ र ५ लाई समेटेको पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा तिनन हजार सात सय १० उपभोक्ता रहेकाछन् । संस्थाको विधान अनुसार १० उपभोक्ता बराबर एक प्रतिनिधी छनौट भएर निर्वाचनमा सहभागी हुनेछन् ।
वडा नं.२ बाट ११३ जना, ३ बाट ६७ जना, ४ बाट ८१ जना र ५ बाट ११० जना गरी ३७१ जना प्रतिनिधी मतदाताको रुपमा छनौट भएकाछन् । ३७१ जना मतदाताले संस्थाको नेतृत्व छनौट गर्नेछन् । निर्वाचन प्रकृया अन्तर्गत उम्मेदवारको अन्तीम नामावली प्रकाशन भइसकेको निर्वाचन समितिका संयोजक हरीप्रसाद अधिकारीले जानकारी दिए ।
२०५८ सालमा स्थापना भएको खानेपानी आयोजना २०६३ सालमा दर्ता भई पदमपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था उपभोक्ता मार्फत सञ्चालन र व्यवस्थापन हुँदै आएको छ ।–00–


