-रेशम सापकोटा
चितवन, १२ पौष- देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्च, भरतपुर–चितवनको छैठौँ वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम आज भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित नवजागृति सामुदायिक वनभित्र रहेको वनभोज स्थलमा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि देवेन्द्रपुर–जगन्नाथपुर सम्पर्क मञ्चका सदस्य तथा बागमती प्रदेशका पूर्व श्रम, रोजगार तथा यातायात मन्त्री माननीय अविनाश दाहाल रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा मञ्चका सल्लाहकार समिति सदस्य तथा साहित्यकार–कवि पोषराज पौडेल उपस्थित रहनुभएको थियो। अतिथिहरु संस्थाका निवर्तमान अध्यक्ष शशीधर लामिछाने, सल्लाहकार समिति संयोजक कृष्ण काफ्ले, लेखा समिति संयोजक लोकराज सापकोटा र सल्लाहकार समितिका सदस्यहरू रहनु भएको थियो ।

कार्यक्रममा कार्यसमिति सदस्यहरु लेखा समिति सदस्यहरु, साधारण सदस्यहरू तथा सदस्य परिवारहरुको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा संस्थाको आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन कोषाध्यक्ष सीता काफ्लेले प्रस्तुत गर्नुभएको थियो भने सचिव ऋषि पोखरेलले वार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो। स्वागत मन्तव्य उपाध्यक्ष हरि रानाभाटले राख्नुभएको थियो। अध्यक्ष पूर्णप्रसाद पोखरेलले संस्थाको उद्देश्य, भूमिका र भावी योजनाबारे प्रकाश पार्नुभएको थियो। औपचारिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अविनाश दाहालले ब्यानर वाचन गर्दै गर्नुभएको थियो। लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक लोकराज सापकोटाले प्रस्तुत गर्नुभएको थियो।
मन्तव्यका क्रममा सल्लाहकार समिति सदस्यहरू महदत्त काफ्ले, एकनारायण पौडेल र पोषराज पौडेलले संस्थाको सामाजिक एकता, गाउँसँगको भावनात्मक सम्बन्ध र सामूहिक प्रयासको महत्वबारे धारणा राख्नुभएको थियो।
प्रमुख अतिथि अविनाश दाहालले माडी क्षेत्रका देवेन्द्रपुर र जगन्नाथपुर आफ्नै जन्मथलो भएकाले भरतपुरमा बसेर यति धेरै गाउँका मानिसहरू एकै ठाउँमा भेला भई कार्यक्रम आयोजना गरेको देख्दा आफू गाउँमै पुगेको अनुभूति भएको बताउनुभयो।
उहाँले फरक–फरक राजनीतिक आस्थामा रहे पनि यो मञ्च गैर–राजनीतिक सामाजिक संस्था भएकाले यसको उद्देश्य शुद्ध रहेको उल्लेख गर्दै यसलाई आफुले सग्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्ता संस्थाहरूले गाउँबाट टाढा रहेका नागरिकहरूबीच भावनात्मक दूरी घटाउँदै सामूहिक विकासको आधार तयार गरिरहेको उहाँको भनाइ थियो। शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र युवाको सशक्तिकरणका क्षेत्रमा मञ्चले गर्ने कुनै पनि सकारात्मक पहलमा सधैँ साथ रहने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रमको मनोरञ्जनात्मक पाटोलाई थप जीवन्त बनाउन वनभोजमा सहभागी अतिथि तथा सदस्यहरूका लागि गोला प्रथामार्फत पुरस्कार वितरण गरिएको थियो। साथै कुर्सीचाल प्रतियोगिता पनि सञ्चालन गरिएको थियो, जसमा गीता रानाभाट प्रथम, शोमा चापागाईं द्वितीय र माया आचार्य तृतीय हुनुभएको थियो। प्रथमले ५००, द्वितीयले ३०० र तृतीयले २०० रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको थियो।
पुरस्कार रकम निवर्तमान अध्यक्ष शशीधर लामिछाने र संस्थाका सदस्य टिकाराम सुवेदीको सौजन्यमा प्रदान गरिएको थियो।
कार्यक्रमको सांस्कृतिक पक्षलाई अझ आकर्षक बनाउँदै समितिका सदस्यहरूबीच रमाइलो लोकदोहोरी पनि सञ्चालन गरिएको थियो। लोकभाकामा गीत गाउँदै सहभागीहरूले सामूहिक नृत्य गरेका थिए भने केहीले एकल गीतमार्फत आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए, जसले वनभोजको वातावरणलाई झनै उल्लासमय बनाएको थियो।

कार्यक्रममा नौ जना नयाँ साधारण सदस्य मंचमा आवद्ध हुनु भएको थियो । साथै रिक्त रहेको सहसचिव पदमा समितिका सदस्य बिदुर रानाभाटलाई सर्वसम्मत रूपमा मनोनयन गरिएको छ भने सदस्य पदमा सीतादेवी अधिकारी चयन हुनुभएको छ।
कार्यक्रम मञ्चका सचिव ऋषि पोखरेलले सञ्चालन गर्नुभएको थियो भने कार्यक्रम अध्यक्ष पूर्णप्रसाद पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा १०९ जना सदस्य तथा सदस्यका परिवारसहितको सहभागिता रहेको थियो। छैठौँ साधारण सभाले संस्थाको आर्थिक तथा सांगठनिक गतिविधिलाई पारदर्शी बनाउँदै गाउँ–समुदायसँगको सम्बन्ध अझ सुदृढ गर्ने, सामाजिक एकता बलियो बनाउने र भविष्यमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने स्पष्ट निचोड निकालेको अध्यक्ष पूर्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।–00—


