-रेशम सापकोटा
माडी । माडी नगर राहत शिक्षक समितिको तेस्रो नगर अधिवेशनले काशीनाथ सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। समितिले राहत शिक्षकहरूको हकहित, पेशागत सुरक्षा र शैक्षिक गुणस्तर प्रवर्द्धनलाई केन्द्रमा राख्दै आगामी कार्यदिशा तय गर्ने उद्देश्यका साथ नयाँ नेतृत्व पाएको हो।
नवगठित कार्यसमितिमा शोभा शर्मा उपाध्यक्ष, इन्द्रप्रसाद पौडेल सचिव, पूर्णकला पौडेल सहसचिव तथा मेनुका पौडेल (दवाडी) कोषाध्यक्ष चयन हुनुभएको छ। त्यस्तै, सदस्यहरूमा सन्तोषी महतो, विवश लामिछाने, तुलसी राई र रेनुका भुषाल पौडेल रहनुभएको छ। अध्यक्ष सापकोटाको संयोजकत्वमा बनेको यो नयाँ टिमले माडी नगरभित्र कार्यरत राहत शिक्षकहरूको अधिकार सुनिश्चित गर्दै संगठनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। अधिवेशनका क्रममा वक्ताहरूले पनि राहत शिक्षकहरूको स्थायित्व, सेवा–सुविधा र पेशागत सुरक्षाका विषयमा एकीकृत आवाज आवश्यक रहेको धारणा राखेका थिए।
माडी क्याम्पसको प्राङ्गणमा सम्पन्न अधिवेशन निवर्तमान अध्यक्ष भेषराज न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा चितवन जिल्ला सल्लाहकार शिवप्रसाद लम्साल प्रमुख अतिथि तथा चितवन जिल्ला वरिष्ठ उपाध्यक्ष हिरा गौडेल विशिष्ट अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमको सञ्चालन छविलाल पौडेलले संचालन गर्नुभएको थियो ।–00–


