काठमाडौं, १२ पुस । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने स्पष्ट पारेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र आफूबीच एकताको प्रयास चलिरहेका बेला मन्त्री घिसिङको यस्तो भनाइ आएको हो।
उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चद्वारा शनिबार काठमाडौंको बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।’उनले देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको उल्लेख गर्दै नयाँ राजनीतिक शक्तिहरूले अहंकार त्यागी साझा उद्देश्यका लागि सम्मानका साथ एकताबद्ध हुनुपर्ने बताए।
जनताको भावना र चाहना नयाँ शक्तिहरू एकजुट भएको देख्न चाहने रहेको उल्लेख गर्दै मन्त्री घिसिङले जनअपेक्षा पूरा गर्न जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा राखे।
उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै उनले ‘उज्यालो’ शब्दलाई नै पार्टीको मुख्य सन्देशका रूपमा गाउँ–गाउँसम्म पुर्याउन कार्यकर्ताहरूलाई निर्देशन दिए।‘घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ, त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ,’ उनले भने।मन्त्री घिसिङले उज्यालो नेपाल पार्टीप्रति जनविश्वास बढ्दै गएको दाबी गर्दै उक्त विश्वासलाई अझ बलियो बनाउँदै निर्भीक रूपमा अघि बढ्नुपर्ने बताए।
उनले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरको रूपमा लिन आग्रह गरे। निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भन्दै उनले सबै नागरिकलाई सचेत र जिम्मेवार बन्न आह्वान गरे। –00–
