- सुवास घिमिरे । सेतोनेपाल
चितवन । चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा शुक्रबारदेखि चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ औपचारिक रूपमा सुरु भएको छ। क्षेत्रीय होटल संघ चितवन–सौराहाको आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर वानियाले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री वानियाले हात्ती संरक्षण मानव जिम्मेवारीको विषय भएकाले प्रकृति संरक्षणमा कुनै सम्झौता गर्न नहुने स्पष्ट पार्नुभयो। उहाँले प्रदेश सरकार पर्यटन प्रवर्द्धनप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै चितवनको पर्यटन विकासका लागि पूर्वाधार निर्माण र पर्यटनका नयाँ आयाम विकासमा जोड दिइरहेको बताउनुभयो।

बागमती प्रदेश सरकारका संस्कृति तथा पर्यटन मन्त्री सूर्य श्रेष्ठले पर्यटन व्यवसायीका समस्या समाधान गर्न सरकार सदैव साथमा रहने बताउनुभयो। त्यस्तै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले चितवनको पर्यटनलाई सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मेला–महोत्सवले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने धारणा राख्नुभयो।
कार्यक्रममा पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले हात्ती महोत्सवलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको जानकारी दिनुभयो। यस्तै नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले महोत्सवले पर्यटन र संस्कृतिको प्रवर्द्धनमा टेवा पुर्याउने बताउनुभयो।

महोत्सव मूल समारोह समितिका संयोजक गुणराज थपलियाले हात्ती संरक्षणसँगै सौराहा र समग्र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको स्पष्ट पार्नुभयो।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले महोत्सवलाई वन्यजन्तु र पर्यटनमैत्री कार्यक्रमको रूपमा व्याख्या गर्दै घरपालुवा हात्तीलाई घाँस खान दिने कानुनी व्यवस्था भइसकेको जानकारी दिनुभयो। साथै हात्तीका लागि एकीकृत वासस्थानको आवश्यकता औँल्याउनुभयो।
क्षेत्रीय होटल संघ चितवन–सौराहाका महासचिव महेश खनालका अनुसार महोत्सवमा हात्ती पेनाल्टी, हात्ती सुन्दरी प्रतियोगिता, हात्तीको वनभोज, स्वास्थ्य परीक्षण लगायत हात्तीसम्बन्धी विविध गतिविधि सञ्चालन गरिनेछ। महोत्सव पुस १३ गतेसम्म चल्नेछ भने यस अवधिमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि प्रस्तुत गरिनेछन्।

महोत्सव सुरु हुनु अघि हात्ती तथा सांस्कृतिक झाँकीसहितको र्यालीले सौराहाको परिक्रमा गरेको थियो। संघका अध्यक्ष ओमप्रकाश पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा पर्यटन व्यवसायी, संरक्षणकर्मी, पत्रकार तथा हात्तीका माउतेहरूलाई सम्मान गरिएको थियो।



–00–


