माओले देखाएको बाटो आज पनि व्यावहारिक मार्गदर्शन हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ क्रान्तिकारी नेता माओत्सेतुङले देखाएको बाटो इतिहासमा मात्र सीमित नरही आज पनि राष्ट्रिय स्वाधीनताको रक्षा, उत्पीडित वर्गको मुक्ति र आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माणका लागि व्यावहारिक मार्गदर्शन भएको बताएका छन्।

माओत्सेतुङको १३३औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिहरूलाई आपसी मतभेदभन्दा माथि उठेर सार्वभौम, आत्मनिर्भर, समानतामूलक तथा समाजवादी नेपालको लक्ष्य प्राप्तिका लागि एकताबद्ध हुन अपील गरेका छन्।

उनले सामन्तवाद अन्त्यका लागि गरिएको वैचारिक तथा व्यवहारिक सङ्घर्षको एक चरण पूरा भइसकेको उल्लेख गर्दै यसले कम्युनिष्ट आन्दोलनको वैचारिक स्पष्टता, संगठनात्मक क्षमता र क्रान्तिकारी प्रतिबद्धतालाई थप सुदृढ बनाएको बताए।

‘यस परिस्थितिमा मार्क्सदेखि लेनिन, माओ हुँदै नेपाली क्रान्तिकारी अनुभवसम्मका सबै योगदानलाई संश्लेषण गर्दै ऐतिहासिक उपलब्धिहरूको रक्षा गर्नु र समाजवादी क्रान्तिको बाटोमा दृढताका साथ अघि बढ्नु कम्युनिष्ट क्रान्तिकारीहरूको मुख्य कार्यभार बनेको छ,’ दाहालले भनेका छन्।

उनले अवसरवाद, वैचारिक विचलन, आत्मसमर्पण र अराजकतावादजस्ता प्रवृत्तिहरू विरुद्ध निर्मम वैचारिक तथा राजनीतिक सङ्घर्षबिना समाजवादी क्रान्ति सफल हुन नसक्ने निचोडसमेत प्रस्तुत गरेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु