आज डिसेम्बर २५: ‘क्रिसमस डे’ मनाइँदै,नेपालभर श्रद्धा र उत्साहका साथ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज नेपालभर क्रिश्चियन समुदायले क्रिसमस डे श्रद्धा र उत्साहका साथ मनाइरहेका छन्।

आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको विश्वास गरिन्छ। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मानव जातिलाई मुक्ति, प्रेम र शान्तिको सन्देश दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले बताए।

उनका अनुसार येशु ख्रीष्टले मुक्ति दिन आएकाले यस दिनलाई मुक्ति दिवस, मानिसलाई प्रेम गर्न सिकाएकाले प्रेम दिवस र शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस का रूपमा मनाइन्छ।

नेपालमा क्रिसमस डे विसं २०६३ सालदेखि महासङ्घले महोत्सवका रूपमा मनाउन थालेको अध्यक्ष गहतराजले जानकारी दिए। महासङ्घ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८२ आयोजना गरिँदै छ। महोत्सवमा सरकारका प्रतिनिधि, विभिन्न निकायका अधिकारी तथा मानव अधिकारकर्मीहरूको उपस्थिति रहने जनाइएको छ।

क्रिसमसको अवसरमा विसं २०६३ देखि २०७४ सम्म सार्वजनिक बिदा दिइँदै आएको थियो। विसं २०७५ देखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएकोमा विसं २०७८ देखि पुनः सबैका लागि सार्वजनिक बिदा दिइँदै आएको छ। पछिल्लो समय काठमाडौँसहित प्रमुख सहरका मुख्य स्थानहरू क्रिसमस ‘ट्री’ र बत्तीहरूले सजाइने गरिएको छ। विशेषगरी पर्यटक बढी आउने ठमेल, बौद्ध, पोखरा, सौराहा लगायतका क्षेत्रमा क्रिसमसको विशेष रौनक देखिन्छ।

महासङ्घको दाबीअनुसार नेपालमा करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च रहेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु