चिसो थप बढ्ने, तराईमा बाक्लो हुस्सु–कुहिरोले जनजीवन प्रभावित

काठमाडौं । तापक्रम घट्दै जाँदा देशभर चिसो बढ्दै गएको छ। अबका केही दिन चिसो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार पश्चिमी वायुको प्रभावका कारण चिसो बढ्न लागेको हो। “पश्चिमी वायुका कारण केही दिन चिसो थप बढ्ने सम्भावना छ। पश्चिमदेखि पूर्वी तराईसम्म चिसो बढ्ने भएकाले सर्वसाधारण थप सतर्क हुनुपर्ने अवस्था छ,” उनले बाह्रखरीसँग भने।

पश्चिमी वायुसँगै आएको जलवाष्पयुक्त हावाका कारण बिहान बाक्लो हुस्सु तथा कुहिरो लाग्ने र ढिलोसम्म घाम नलाग्दा चिसो बढ्ने मौसमविद् पुडासैनीको भनाइ छ।

यसैबीच, काठमाडौंमा आज बिहान ५ः४५ बजे न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस मापन गरिएको छ। दिउँसो तापक्रम बढेर १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान गरिएको छ। हिजो काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै हालसम्मको सबैभन्दा कम ४.९ डिग्री सेल्सियस मापन गरिएको थियो।

तराईका अधिकांश स्थानमा आज बिहानदेखि बाक्लो हुस्सु र कुहिरो लागेको छ। “पूर्वी तराईको तुलनामा पश्चिम तराईमा बढी हुस्सु र कुहिरो लागेको छ,” पुडासैनीले भने, “कतिपय स्थानमा मध्याह्न १२ देखि १ बजेसम्म पनि घाम नलाग्न सक्छ।”

आज बिहान पौने ६ बजे झापाको चन्द्रगढीमा भिजिबिलिटी १०० मिटरमा झरेको छ भने विराटनगरमा ८०० मिटर मापन गरिएको छ। भैरहवा र जनकपुरमा समान १ हजार मिटर भिजिबिलिटी रहेको छ।

त्यस्तै, दिपायलमा ८००, धनगढीमा १२००, वीरेन्द्रनगर र घोराहीमा समान २०० तथा नेपालगञ्जमा ८०० मिटर भिजिबिलिटी रहेको मौसम विभागले जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु