चितवन । चितवनका पत्रकार अजय गोर्खालीको शंकास्पद मृत्यु प्रकरणमा चितवन प्रहरीले आफ्नो अध्ययन–अनुसन्धानबाट प्राप्त नतिजाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा पत्रकारहरुकाबीच प्रहरीले घटनासम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो। प्रहरीले घटनासँग सम्बन्धित सिसिटिभी फुटेज, मृत्युअघि सिसिटिभीमा देखिएका संकास्पद व्यक्तिहरूको बयान तथा संकलित प्रमाणका आधारमा प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको जनाएको छ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता समेत रहनुभएका डिएसपी रविन्द्र खनालले अध्ययन–अनुसन्धानबाट प्राप्त विवरण सार्वजनिक गर्नुभएको हो। प्रवक्ता खनाल स्वयं यो घटनाको अध्ययन–अनुसन्धानमा खटिएका थिए।
चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले पत्रकार गोर्खालीको मृत्यु प्रकरणलाई प्रहरीले सूक्ष्म र गहिरो ढंगबाट अध्ययन गरिरहेको बताउनुभयो। उहाँले अनुसन्धान अझै जारी रहेको र सबै पक्षलाई समेटेर निष्कर्षमा पुग्ने प्रहरीको तयारी रहेको जानकारी दिनुभयो।
तर, पत्रकार गोर्खालीका परिवारजन भने प्रहरीको प्रारम्भिक अध्ययनबाट सार्वजनिक गरिएको विवरणप्रति सन्तुष्ट देखिएका छैनन्। परिवारले घटनाको पर्याप्त र गहिरो अध्ययन–अनुसन्धान नगरी हतारमा विवरण सार्वजनिक गरिएको गुनासो गरेका छन्।

यसैबीच, नेपाल पत्रकार महासंघ चितवन शाखाले पनि यो घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। महासंघका अनुसार पत्रकार अजय गोर्खालीको २०८२ मंसिर २० गते रहस्यमय रूपमा निधन भएको भए पनि परिवार र महासंघले मृत्युपछि मात्रै घटनाबारे प्रारम्भिक जानकारी पाएका थिए। घटनासम्बन्धी बाहिर आएका फोटो, भिडियो तथा प्रत्यक्षदर्शीको भनाइले घटनालाई अझै रहस्यमय बनाएको महासंघको भनाइ छ। घटनाको सत्य–तथ्य छानबिन गरी सार्वजनिक गर्न महासंघले परिवारसँग समन्वय गर्दै जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराइसकेको जनाएको छ।
प्रहरीका अनुसार हालसम्म एक जना व्यक्ति पक्राउ परिसकेको छ भने थप अनुसन्धान जारी रहेको जानकारी महासंघले पाएको छ।
घटनालाई गम्भीर र संवेदनशील ठहर गर्दै नेपाल पत्रकार महासंघले उपाध्यक्ष शान्ता अधिकारीअधिकारको संयोजकत्वमा, कार्यसमितिका सदस्य सरोज उपरकुटी र सुजन पौडेल सदस्य रहने गरी ‘पत्रकार अजय गोर्खालीको रहस्यमय निधन अध्ययन समिति’ गठन गरेको छ। समितिले घटनाको सत्य–तथ्य पत्ता लगाउने उद्देश्यसहित अध्ययन सुरु गरिसकेको महासंघले जनाएको छ।
महासंघले पत्रकार गोर्खालीको निधनबारे यथाशीघ्र सत्य तथ्य बाहिर ल्याउन तथा घटनामा दोषी देखिएकामाथि कडाभन्दा कडा कारबाही गर्न जिल्ला प्रहरी कार्यालयसँग जोडदार माग गरेको छ।

–00—


