काठमाडौं, १५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले १८औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमार्फत आजको दिन नेपाली जनताले शाही दमन चिर्दै इतिहास रचेको महत्वपूर्ण दिन भएको बताएका छन्।
‘मुकुटको होइन–मुलुकको हितले स्थान पाएको दिन, सिंहासनको अभिमान तोडेर नागरिकको स्वाभिमान स्थापित भएको दिन,’ उनले भनेका छन्, ‘जनताको सात दशक लामो बलिदानीपूर्ण सङ्घर्षले विजय प्राप्त गरेर गणतन्त्र आर्जन गरेको दिन।’
आज देशभर विविध कार्यक्रमहरूमार्फत १८औं गणतन्त्र दिवस भव्य रूपमा मनाइँदैछ।
गणतन्त्र दिवसको अवसरमा मूल समारोह समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा राष्ट्रपति, प्रधानमन्त्रीलगायत सरकारका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहनेछ।
गणतन्त्र स्थापनाको स्मरणमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ।


