लमजुङ गाउँ–शहर चितवन नवलपुर सेवा समाजको दोस्रो साधारण सभा सम्पन्न

चन्द्रविलास घिमिरे । सेतोनेपाल ।

चितवन । लमजुङ गाउँ–शहर चितवन नवलपुर सेवा समाजको दोस्रो साधारण सभा भरतपुर महानगरपालिका वडा नं. १२ स्थित स्मार्ट बैंक्वेट रिसोर्ट प्रा.लि.मा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष रामकृष्ण देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष कृष्णलाल श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्ष श्रेष्ठले यस्ता संघ–संस्थाले समाजमा एकता र भाइचाराको सम्बन्ध मजबुत बनाउने उल्लेख गर्नुभयो । उहाँले संस्थाले गर्दै आएका गतिविधिहरू प्रशंसनीय रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाकी सदस्य लक्ष्मी धिताल घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव रामचन्द्र धितालले वार्षिक कार्यप्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै, कोषाध्यक्ष गणेशबहादुर खड्काले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा कोशलेन्द्रबहादुर कँडेल, रामकुमार श्रेष्ठ, भरतवहादुर अधिकारी, किरण बराल, पृथ्वी टोल विकास संस्थाका अध्यक्ष जीतबहादुर प्रछाईं क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

२०८० साल असोज ७ गते स्थापना भएको उक्त संस्थामा हाल आजीवन सदस्य १०२ जना र साधारण सदस्य ७५ जना रहेका छन् । लमजुङ गाउँ–शहरबाट चितवन र नवलपुर क्षेत्रमा बसाइँसराइ गरी आएका व्यक्तिहरूलाई एकजुट बनाउने उद्देश्यले संस्था स्थापना गरिएको हो ।

संस्थाले चितवन र नवलपुरमा रहेर लमजुङ क्षेत्रको विकास र प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउँदै आएको छ । कार्यक्रमको सञ्चालन संस्थाका सचिव रामचन्द्र धितालले गर्नुभएको थियो ।–00–

Share:

सम्बन्धित समाचारहरु