काठमाडौं । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ।
कतार एयरवेजको उडान नम्बर क्यूआर ८८२४ अन्तर्गतको बोइङ ७७७ एफ फ्रेटर जहाज चितवनबाट ल्याइएका खगेन्द्रप्रसाद र रुद्रकली नामका हात्ती लिन भैरहवा आइपुगेको हो। दुवै हात्तीलाई मंगलबार नै चितवनबाट विशेष ट्रकमार्फत भैरहवा पुर्याइएको थियो। आवश्यक तयारी र प्रक्रिया पूरा गरी आज हात्तीलाई जहाजमार्फत कतार पठाइने तयारी गरिएको छ।
यसअघि मौसमका कारण जहाज आज बिहान भैरहवामा अवतरण गर्न नसकेपछि भारतको कोलकाता डाइभर्ट गरिएको थियो। कोलकाताबाट पुनः उडान भरेको जहाज अहिले भैरहवा अवतरण गरेको हो। जहाज भैरहवाबाट उडान भरेको करिब ४ घण्टामा कतार पुग्ने बताइएको छ। नेपालले यसअघि विभिन्न देशलाई गैँडा उपहार दिएको भए पनि हात्ती उपहारस्वरूप प्रदान गर्न लागेको यो पहिलोपटक हो।–00—


