एनपीएलमा चितवन राइनोजको टस जितेर पहिलो ब्याटिङ, प्लेअफ दौडमा दुवै टोलीको ठूलो दबाब

काठमाडौं,  १६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज चितवन राइनोज र जनकपुर रोयल्स आमनेसामने छन्। महत्त्वपूर्ण भिडन्तमा चितवनले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको छ।

चितवनले आजको खेलका लागि टोलीमा दुई परिवर्तन गरेको छ। दीपक बोहरा र रिजन ढकालको स्थानमा अमरसिंह राउटेला र आइकोनिक खेलाडी सौगात ढकाललाई मौका दिइएको छ। टिम विगतका खेलहरूमा विदेशी खेलाडीप्रतिको निर्भरता बढिरहेको देखिन्छ।

चितवनले अहिलेसम्म ४ खेलमा २ जित र २ हार हात परेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई हराए पनि दोस्रोमा लुम्बिनी लायन्ससँग पराजित भयो। तेस्रो खेलमा विराटनगरलाई हराएपछिको उत्साह चौथो खेलमा काठमाडौँ गोर्खाजसँगको हारले फेरि घटेको थियो।

आजको खेल जितेमा चितवन प्लेअफ नजिक पुग्नेछ। हारेमा बाँकी दुई खेल जितेर अन्य टिमका नतिजामा भर पर्नुपर्ने अवस्था आउनेछ, साथै नेट रनरेट पनि निर्णायक बन्न सक्छ।

जनकपुरको प्लेअफ यात्रा ‘कर वा नर’

जनकपुर रोयल्सले पनि आज टोलीमा दुई परिवर्तन गरेको छ। ललित राजवंशी र किशोर महतोको सट्टा अनिल साह र सचिन भट्टलाई समावेश गरिएको छ। अघिल्लो खेलमा अनिल साहलाई नै बेन्चमा राखेर दक्षिण अफ्रिकी अलराउन्डर वायन पार्नेललाई कप्तानी भएकाले समर्थकहरूबीच धेरै चर्चा भएको थियो। तर कप्तान परिवर्तनले नतिजामा भने सुधार ल्याउन सकेन।

जनकपुरले अहिलेसम्म ४ खेलमै हार व्यहोरेको छ— काठमाडौं गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग। आजको खेल जनकपुरका लागि अत्यन्तै महत्वपूर्ण छ।
यो खेलमा पराजय भएमा उनीहरूको प्लेअफ यात्रा यहीं समाप्त हुनेछ। जिते पनि बाँकी २ खेल जित्नुका साथै अन्य टिमका नतिजामा भर पर्नुपर्नेछ। चितवनले यसपछि सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। जनकपुरले बाँकी सबै खेल जिते मात्र गणितीय रूपमा सम्भावना जोगिनेछ।

Share:

सम्बन्धित समाचारहरु