काठमाडौँ, १५ मंसिर । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज (सोमबार) खेल दिइएको छैन। प्रतियोगिता अन्तर्गत भोलि मङ्गलबार भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई खेल हुने निर्धारित छ।
पहिलो खेल बिहान ११ः४५ बजे सुरु हुनेछ, जहाँ साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। लगातार चार खेलमा पराजित हुँदै तालिकाको पुछारमा रहेको जनकपुरले प्लेअफको सैद्धान्तिक सम्भावना जोगाइ राख्न जीत अनिवार्य छ।
चार खेलमध्ये दुई खेल जितेको चितवन भने भोलिको जितसँगै प्लेअफको यात्रा सुदृढ बनाउन चाहन्छ।
अपरान्ह ४ बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र कर्णाली याक्स भिड्नेछन्। दुबै टोलीका लागि यो खेल अत्यन्तै महत्वपूर्ण छ। चार खेलमा एक खेल मात्रै जितेको पोखराका लागि प्लेअफ प्रतिस्पर्धामा टिक्न भोलिको जित आवश्यक छ भने कर्णालीका लागि यो खेल ‘गर या मर’ को अवस्थामा पुगेको छ।
मङ्सिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भएका छन्। अपराजित सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा स्थान बनाउने पहिलो टोली बनेको छ।–00–

