कालिका । लुमन्तीले कालिका नगरपालिकामा सञ्चालन गर्दै आएको समुदायको अगुवाईमा सामाजिक तथा आर्थिक रूपान्तरणका लागि सामुदायिक सशक्तिकरण कार्यक्रम प्रभावकारी रहेको सहभागीहरूले बताएका छन्। आइतबार स्थानीय रेडक्रस माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको वार्षिक समीक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रममा समुदाय स्तरमा सञ्चालन भएका गतिविधिले देखाएका सकारात्मक परिणामबारे सराहना गरिएको हो।
कार्यक्रममा डिसेम्बर २०२४ देखि नोभेम्बर २०२५ सम्मका गतिविधिको समीक्षा तथा सामाजिक लेखाजोखा प्रस्तुत गरिएको थियो। कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईँ, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू तथा परियोजना कार्यक्षेत्रका समुदाय प्रतिनिधिहरूको सहभागिता थियो।
कार्यक्रमको प्रारम्भमा लुमन्तीका कार्यक्षेत्र प्रमुख सिंहबहादुर वाइबाले कालिका नगरपालिकाका विभिन्न वडामा सञ्चालित सामुदायिक सशक्तिकरण कार्यक्रमबारे विस्तृत जानकारी दिए। उनले समुदायमा सञ्चालन भएका कार्यक्रम, बजेट, उपलब्ध परिणाम तथा आगामी वर्षका प्रस्तावित योजनाहरू प्रस्तुत गरे।

विविध वक्ताहरूले कार्यक्रमका प्रभाव र आवश्यकताबारे सुझाव राखे।
-
वडा नं. १० का अध्यक्ष नरजंग प्रजाले चेपाङ समुदाय ज्यादै विपन्न रहेको भन्दै कार्यक्रमलाई चेपाङ बस्तीमा लैजान आग्रह गरे।
-
वडा नं. ३ का अध्यक्ष वीरेन्द्र तामाङले खाद्य सुरक्षासम्बन्धी कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने, कृषि तथा सिंचाइका योजनामा बजेट विनियोजन आवश्यक रहेको बताए।
-
कालिका नगरपालिकाका शाखा अधिकृत प्रकाशचन्द्र पौडेलले समुदाय परिचालन गतिविधिलाई अझ प्रभावकारी बनाउन विभिन्न निकायसँग सहकार्य विस्तार गर्नुपर्ने सुझाव दिए।
कार्यक्रमको खुला सत्रपछि फोहर व्यवस्थापनतर्फ उल्लेख्य योगदान पुर्याएका सामुदायिक समूहलाई पुरस्कार प्रदान गरिएको थियो।
-
कालिका–३ जनप्रियटोल — प्रथम
-
कालिका–३ नवकिरणटोल — द्वितीय
-
कालिका–६ सिमलघारी, गुरौचौर — तृतीय
समापन भाषणमा नगरप्रमुख विनोद रेग्मीले लुमन्तीद्वारा सञ्चालित कार्यक्रमले विपन्न समुदायहरूको क्षमता अभिवृद्धि गर्दै विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन अनुकूलनका क्षेत्रमा उल्लेख्य काम गरेको बताए। स्थानीय तहका वार्षिक योजनासँग समन्वय गर्दै विभिन्न सामुदायिक विकासका काम सम्पन्न गर्न सफल भएको उल्लेख गर्दै उनले आगामी वर्ष अति विपन्न परिवारका लागि आवास व्यवस्थापनमा लुमन्तीसँग सहकार्य गर्ने योजना तयार भइसकेको जानकारी दिए।
कार्यक्रम सहभागीहरूलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरिएको थियो।

-00–
