काठमाण्डौं । नेकपा एमालेले एघारौँ महाधिवेशनका लागि देशभर प्रतिनिधि छनोट प्रक्रिया आज सञ्चालन गरिरहेको छ। ११ गते देशभर मनोनयन भएको थियो र केही क्षेत्रमा सहमति जुटे पनि सहमति नभएका क्षेत्रमा आज बिहान ८ बजेदेखि मतदान भइरहेको छ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार प्रतिनिधिसभा क्षेत्रहरूबाट खुला, महिला, दलित र युवासहित करिब २,००० प्रतिनिधि छानिँदै छन्। साथै प्रवास, जनसंगठन र विभागमार्फत झन्डै १०० प्रतिनिधि थपिनेछन्।
मनोनीतसहित महाधिवेशनमा करिब २,२०० प्रतिनिधि सहभागी हुनेछन्।
एमाले केन्द्रीय सचिवालयले प्रतिनिधि छनोटका लागि विभिन्न कोटा र विधि निर्धारण गरेको छ—
-
प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट खुला २, महिला १ प्रतिनिधि
-
कम्तीमा एकजना ४० वर्षभन्दा कम उमेरको युवा अनिवार्य
-
आठ सय सदस्यबाट एक प्रतिनिधि (महिलाका लागि छुट्टै व्यवस्था)
-
दलित कोटामा प्रत्येक ५ सय सदस्यमा एक प्रतिनिधि
-
जनसंगठन, विभाग, प्रवास आदिबाट निश्चित संख्यामा प्रतिनिधि
यसका अतिरिक्त केन्द्रीय कमिटी, अनुशासन, लेखा, निर्वाचन आयोग र सल्लाहकार परिषद्बाट ४६४ जना स्वतः प्रतिनिधि रहनेछन्। एमालेका कुल संगठित सदस्य ६,६७,६३० मध्ये विभिन्न संरचनाबाट अनुमानित २,१०० भन्दा बढी प्रतिनिधि रहने व्यवस्था मिलाइएको छ। पछिल्लो सचिवालय निर्णयअनुसार केही प्रतिनिधि संख्यामा थपसमेत भएको छ।


