कुलमान घिसिङ मन्त्री पद छाडेर आमनिर्वाचनमा होमिने तयारी

काठमाडौं । उज्यालो नेपाल पार्टीका ‘पर्दापछाडिका नायक’ कुलमान घिसिङले आगामी आमनिर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गर्ने निश्चित भएको छ। यसका लागि उनले मन्त्री पद छाड्ने तयारी गरेका छन्।

स्रोतका अनुसार उनी काठमाडौं क्षेत्र नं. ३ बाट उम्मेदवार बन्नेछन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय अगाडि बढाएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिने बताइएको छ। प्रधानमन्त्री सुशीला कार्कीले चुनाव लड्न अनुमति दिए पनि तत्कालै राजीनामा नदिन सुझाव दिएकी छन्।

उम्मेदवारी दर्ताको पूर्वसन्ध्यामा मात्रै राजीनामा दिने तयारी रहेको बताइन्छ। कुलमानले लोकप्रिय व्यक्तित्व रवि लामिछाने र बालेन शाहसँग नजिकको धार भएर एउटै राजनीतिक प्लेटफर्मबाट चुनाव लड्ने इच्छा राखेका छन्। यही मंसिर १७ गते ‘उज्यालो नेपाल पार्टी’को औपचारिक घोषणा समेत उनको उपस्थितिमा हुने भएकाे छ।

रामेछापका स्थायी बसोबासी कुलमानले पहिलो पटक काठमाडौं–३ बाटै चुनाव लड्न मतदाता नामावली सारिसकेका छन्। उनलाई धादिङ (ससुराली जिल्ला) र रामेछाप दुवै स्थानबाट पनि उम्मेदवारीको प्रस्ताव आएको स्रोत बताउँछ।२०७९ मा काठमाडौं–३ बाट कांग्रेसका सन्तोष चालिसे विजयी भएका थिए भने रास्वपाका दुर्गाबिक्रम थापा तेस्रो स्थानमा रहेका थिए। रास्वपासँग सहकार्य भएमा कुलमानको दाबेदारी झनै बलियो हुने देखिन्छ।

हाल कुलमानले पार्टी विस्तारसँगै रास्वपासँग चुनावी सहकार्य सम्भावनालाई अघि बढाइरहेका छन्। रास्वपाभित्र पनि वार्ता सकारात्मक रूपमा अघि बढेको स्रोतले जनाएको छ। कुलमाननिकट टोली—डा. तारा जोशी, डा. विशाल भण्डारीलगायत—विभिन्न स्वतन्त्र समूह र लोकप्रिय व्यक्तिहरूसँग निरन्तर छलफल गरिरहेको छ। यही कारण कुलमान तत्कालै मन्त्री पद छाड्न हतारोमा नभएको बताइन्छ।–00–

Share:

सम्बन्धित समाचारहरु