चितवन । आउँदो पुस २५ गतेदेखि पूर्वी नवलपरासीको गैँडाकोटमा ‘गैँडाकोट महोत्सव’ आयोजना हुने भएको छ। उद्योग वाणिज्य संघ गैँडाकोटको आयोजनामा नारायणी नदी किनारमा हुने महोत्सव पुस २५ गतेदेखि माघ १० गतेसम्म सञ्चालन हुने आज पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ।

महोत्सवका संयोजक छविलाल कँडेलका अनुसार यसपटक महोत्सवमा नयाँ तथा परिमार्जित उत्पादनहरूको प्रतिस्पर्धात्मक प्रदर्शनका लागि नेपालका घरेलु, साना–मझौला तथा ठूला उद्योगहरूका साथै विदेशी वस्तु, पहाडी जिल्लाका खनिजजन्य, कृषिजन्य तथा अन्य स्थानीय उत्पादनसहित २५० वटा स्टल रहनेछन्। महोत्सवमा २ लाख दर्शक उपस्थिति हुने तथा २५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको अपेक्षा छ।
महोत्सवलाई चार मुख्य भागमा विभाजन गरिएको छ—
-
प्रदर्शनी तथा बिक्री कक्ष
-
सांस्कृतिक तथा सांगितिक क्षेत्र
-
बाल उद्यान तथा मनोरञ्जन क्षेत्र
-
खानपान क्षेत्र
प्रदर्शनी कक्षमा छुट्टाछुट्टै परिसर बनाई अटोमोबाइल, बैंक तथा वित्तीय संस्था, मोवाइल–इलेक्ट्रोनिक्स र आईटी, निर्माण सामग्री, कृषि तथा जडीबुटी, पर्यटन, दैनिक उपभोग्य सामग्री, हस्तकला, तयारी पोशाक तथा जुत्ताचप्पललगायतका उत्पादन प्रदर्शनीमा रहने छन्।
महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका प्रदर्शकहरूको समेत सहभागिता रहनेछ। साथै, प्रत्येक दिन राष्ट्रिय तथा प्रदेशस्तरीय कलाकारहरूको प्रस्तुति, फेशन शो तथा विद्यालय र कला केन्द्रहरूको विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। बाल उद्यान क्षेत्रमा विभिन्न साहसिक तथा मनोरञ्जनात्मक खेल, जलपरी, माछाका एक्वेरियम लगायत राखिने बताइएको छ।

१५ दिने महोत्सवले जेनजी आन्दोलनका कारण निजी क्षेत्रमा परेको आर्थिक प्रभाव न्यूनिकरण गर्न तथा स्थानीय व्यवसाय उत्थानमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आन्दोलनका नाममा निजी सम्पत्तिमा तोडफोड गर्नेहरूलाई कानुनी कारबाही गर्नुपर्ने उल्लेख गर्दै, गैँडाकोट महोत्सवलाई गण्डकी प्रदेशको विकास सम्भावनाको महत्वपूर्ण प्रतीकका रूपमा अघि बढाउन आग्रह गरे।

–00—


