जनकपुरधाममा विवाह पञ्चमी महोत्सव सम्पन्न, लाखौँ भक्तजनको सहभागिता

जनकपुरधाम — त्रेतायुगमा भगवान् राम र सीताको विवाहको सम्झनामा मनाइने भव्य धार्मिक पर्व विवाह पञ्चमी महोत्सव आज सम्पन्न हुँदैछ। मंगलबार मुख्य समारोहस्वरूप स्वयम्बर तथा विवाह सम्पन्न भएपछि साताव्यापी महोत्सव समापनतर्फ उन्मुख भएको हो।

आज भारतबाट आएका पाहुनालाई बिदा गर्ने परम्परागत कार्यक्रम ‘रामकलेवा’ पछि महोत्सव औपचारिक रूपमा समाप्त हुनेछ। यद्यपि बुधबार रामकलेवा नभइ अन्य सांस्कृतिक कार्यक्रम मात्र सम्पन्न हुने जनाइएको छ।

मंगलबार विवाह पञ्चमीको मुख्य दिन जानकी मन्दिरबाट माता सीताको डोला र राम मन्दिरबाट भगवान् रामको डोला निकालेर ऐतिहासिक रंगभूमि मैदानमा परम्परागत विधिअनुसार परिक्रमा गराइ स्वयम्बर गरियो। डोलासँगै लाखौँ भक्तजन नगर परिक्रमा यात्रामा सहभागी बनेका थिए।

स्वयम्बरका क्रममा आकाशबाट हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरी वातावरणलाई धार्मिक र अनुपम बनाइएको थियो। जानकी मन्दिर र राम मन्दिरका भगवानका मालालाई एक-अर्कामा फेरि गराउँदै नगर परिक्रमा पनि सम्पन्न गरियो।

यस वर्षको नगर परिक्रमा यात्रा जनकपुरधामस्थित विभिन्न मठ–मन्दिरका डोला, साधुसन्त तथा लाखौँ श्रद्धालुको सहभागितामा अत्यन्त भव्य रूपमा सम्पन्न भएको जनाइएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु