काठमाडौं ,१ मंसिर। नेपाली क्रिकेट इतिहासमा पहिलोपटक फ्लडलाइटमुनि क्रिकेट खेलिने भएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आज (आइतबार) बाट सुरु हुँदैछ, जससँगै नेपाली क्रिकेट नयाँ युगमा प्रवेश गर्न लागेको छ।
यो क्षण धेरै खेलाडी, दर्शक र क्रिकेट सरोकारवालाको वर्षौँको सपना थियो । फ्लडलाइटमा डे–नाइट म्याच र दर्शकका लागि प्यारापिट निर्माणसहित एनपीएल दोस्रो संस्करण ऐतिहासिक बन्न लागेको हो।
यसपटकको लिगमा कुल ३२ खेल हुनेछ । तीमध्ये २३ वटा खेल डे–नाइट रूपमा खेलाइनेछ, जहाँ फ्लडलाइटको उपयोग गरिनेछ। पहिलो संस्करण भने केवल दिउँसो मात्र सम्पन्न भएको थियो।
आइतबार क्यानलाई फ्लडलाइट र प्यारापिटको संरचना औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। यसपछि अब खेलाडीहरू पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको माहोलमा रातको प्रकाशमुनि मैदानमा उत्रनेछन्।
गत संस्करणको विजेता जनकपुर बोल्ट्सले सोमबार काठमाडौँ गोर्खाजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ। खेलाडीदेखि क्यान पदाधिकारी, फ्रेन्चाइज प्रतिनिधि, समर्थकदेखि सर्वसाधारण नेपालीसम्म सबैले यस ऐतिहासिक क्षणको साक्षी हुने तयारी गरेका छन्।
एनपीएलमा प्रतिस्पर्धा गर्ने ८ फ्रेन्चाइज टोली
यसपटक पनि प्रतियोगितामा ८ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्। ती टोलीहरू यसप्रकार छन्–
-
जनकपुर बोल्ट्स
-
सुदूरपश्चिम रोयल्स
-
कर्णाली याक्स
-
चितवन राइनोज
-
काठमान्डु गोर्खाज
-
विराटनगर किङ्स
-
पोखरा एभेन्जर्स
-
लुम्बिनी लायन्स
नेपाली क्रिकेटमा ऐतिहासिक दिन
फ्लडलाइट, प्यारापिट र व्यवस्थित दर्शकदीर्घा सहितको यो संस्करण नेपाली क्रिकेटको व्यावसायिकता र आधुनिकिकरणतर्फको ठूलो कदम मानिएको छ। दर्शकले अब रातमा रमाइलो माहोलमा खेल हेर्न पाउनेछन् भने खेलाडीले अन्तर्राष्ट्रिय स्तरको वातावरणमा आफ्नो प्रतिभा देखाउनेछन्।


