कोदोको परिकार विविधिकरण: ढिडोबाट बिस्कुटसम्म माग बढ्यो

 म्याग्दी, ३० कात्तिक —
जिल्लामा उत्पादन हुने कोदोको परिकारको विविधिकरण र बजारीकरण तीव्र बन्दै गएको छ। पछिल्लो समय कोदो ग्रामीण भेगमै सीमित नरही सहरबजार र विदेशमा बसेकाहरूको पनि रोजाइमा पर्न थालेपछि किसान र उद्यमी उत्साहित भएका छन्।

कोदोका परिकार ढिडो, रोटी र खोलेमा सीमित रहँदै आएको भए पनि अब यसको बिस्कुटसमेत उत्पादन हुन थालेको छ। माग र खपत बढेसँगै स्थानीय उद्यमीहरूले कोदो प्रशोधन गरेर बजारमा पठाउने कार्य विस्तार गरेका छन्।

अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरका अन्नपूर्ण बेकरी हाउसका सञ्चालक कृष्ण खड्काले उपभोक्ताबाट माग बढेपछि कोदोको बिस्कुट उत्पादन थालेका छन्। “पहिले कोदो खानेलाई गरिब ठानिन्थ्यो, तर यसको महत्व र पोषण बुझिँदै जाँदा माग बढ्यो,” खड्काले बताए।

यसअघि धवलागिरि गाउँपालिका–७ ताकमका धवलागिरि बेकरी, क्याफे एण्ड एग्रो मार्टका सञ्चालक अनिल भण्डारीले कोदोको पीठोबाट बिस्कुट उत्पादन गर्दै आएका छन्। त्यस्तै, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा रहेको टोड्के हिल रिसोर्टले पनि पाहुनालाई चखाउन तथा बजार आपूर्ति गर्न कोदोको बिस्कुट उत्पादन थालेको छ।

विदेशमा बस्ने, गाउँबाट बजारतिर बसाइँसराइ गर्ने तथा पर्यटनमा आउने पाहुनाले कोदोको बिस्कुट र पीठो किनेर लैजाने क्रम बढेको उद्यमी खड्काले बताए। ग्रामीण भेगभन्दा सहर बजारबाट बढी माग आउने गरेको पनि उनले उल्लेख गरे। भुटेको कोदोको पीठोमा चिनी, मह र उखुको खुदो मिसाएर तयार पारिने कोदोको बिस्कुट प्रतिदर्जन ६० रुपैयाँमा बिक्री हुन्छ।

पर्यटकीय क्षेत्र लक्षित गर्दै पोखरेबगरमा कोसेलीघर सञ्चालन तथा कोदोको बिस्कुट र पाउरोटी उत्पादन विस्तार गर्ने तयारी समेत भइरहेको छ। आवश्यक ‘ओभन’ खरिदका लागि कृषि ज्ञान केन्द्रले गत आर्थिक वर्षमा दुई लाख रुपैयाँ अनुदान दिएको थियो। केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले परम्परागत बाली संरक्षण, प्रशोधन र बजारीकरणका कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने जानकारी दिए।

चालु आर्थिक वर्षमा म्याग्दीका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ, जसअन्तर्गत किसान र उद्यमीहरूले परियोजनाको कुल लागतको ५० प्रतिशत अनुदान पाउनेछन्।

कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा २,७५० हेक्टर क्षेत्रफलमा वार्षिक ३,३०० मेट्रिक टन कोदो उत्पादन हुन्छ। समुद्री सतहदेखि ३,१०० मिटर उचाइसम्म कोदोखेती उपयुक्त मानिन्छ।

क्याल्सियम, फस्फोरस र आइरन प्रशस्त हुने कोदो सबै उमेरका मानिसका लागि पोषिलो खानाका रूपमा मानिन्छ। मधुमेह, उच्च रक्तचाप, युरिक एसिड, दम तथा पाचनसम्बन्धी समस्या भएका बिरामीका लागि पनि कोदो लाभदायक हुने केन्द्रका प्रमुख बाँस्तोलाले बताए।

उद्यमी अनिल भण्डारीका अनुसार नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको अवस्थामा कोदोको माग वृद्धि हुनु स्वाभाविक हो। खेती घट्दै गएको कोदोको विविधिकरण र बजारीकरणले किसानलाई लाभ हुने तथा आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनको भनाइ छ।–00–

Share:

सम्बन्धित समाचारहरु