चितवन फोटोग्राफी संघको ४६औँ स्थापना दिवस विविध कार्यक्रमसहित मनाईदै

चितवन । चितवन फोटोग्राफी संघले आफ्नो ४६औँ स्थापना दिवस शनिबार विभिन्न कार्यक्रमसहित मनाएको छ। स्थापना दिवसको अवसरमा बिहान नारायणगढका लायन्सचोकबाट सुरु भएको प्रभातफेरी शहीदचोक, वीरेन्द्र बहुमुखी क्याम्पस चोक हुँदै चौविसकोठी पुगेर सभामा परिणत भएको थियो।

सभामा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथिको रूपमा उपस्थित भए। कार्यक्रममा ट्राफिक सचेतना कार्यक्रम र वृहत्त रक्तदान कार्यक्रम पनि सञ्चालन गरिएको थियो।

उपप्रमुख अधिकारीले फोटोग्राफी संघले मानवीय सेवाप्रति देखाउँदै आएको तत्परता, सामाजिक जिम्मेवारी र कला–संस्कृतिप्रतिको योगदानको प्रशंसा गरे। चितवनका फोटोग्राफरहरूको कला र व्यावसायिकता उच्च स्तरको रहेको उल्लेख गर्दै उनले फोटोग्राफरहरूको एकताले चितवनलाई अझ सशक्त बनाउने बताए।

उनले संघले आयोजना गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउँदै आएको उल्लेख गर्दै संघका लागि भवन निर्माण गर्न खाली जग्गा पहिचान गरी प्रस्ताव लिएर आउन आग्रह गरे। “भवन बनाउन मिल्ने खाली जग्गा पहिचान गरेर वडा मार्फत प्रस्ताव ल्याउनुहोस्, महानगर सहयोग गर्न तयार छ,” उनले भने।

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष चन्द्रकान्त ओझा, नेपाल फोटोग्राफर महासंघका वरिष्ठ उपाध्यक्ष तथा संघका पूर्व अध्यक्ष श्रीराम कंडेल, संस्थापक कोषाध्यक्ष गोविन्दप्रसाद कोइराला, चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापा, सल्लाहकार इश्वरी घिमिरेलगायतले शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले स्वागत मन्तव्य दिए भने सचिव रमेश घिमिरेले सञ्चालन गरेका थिए।

चितवनका फोटोग्राफरहरूको पेशागत सुरक्षा, अधिकार र एकताको उद्देश्यसहित चितवन फोटोग्राफी संघ २०३७ साल मंसिर १ गते स्थापना भएको हो।

Share:

सम्बन्धित समाचारहरु