चितवन । जेनजी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी कार्यालयमा भएको तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा २८ जना पक्राउ परेका छन्। फोटो र भिडियोका आधारमा परिचय खुलेका व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ परेकामध्ये १२ जनालाई हाजिरी जमानीमा छाडिएको छ भने १६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ। केही व्यक्तिहरू यसअघि पनि विभिन्न आपराधिक घटनामा संलग्न रहेको भेटिएको एसपी गोविन्द पुरीले बताए। उनका अनुसार ७ जना पहिले नै अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।
यसअघि ज्यान मार्ने कसुर, लागुऔषध तस्करी, अभद्र व्यवहारलगायतका मुद्दामा जेल सजाय भोगेका व्यक्तिहरू समेत हालको घटनामा संलग्न फेला परेको प्रहरीले जनाएको छ। बैंकका एटीएम फोड्ने प्रयास, सरकारी कार्यालयमा आगजनीको नेतृत्व गर्ने, भिडलाई उक्साउने, प्रहरीमाथि अभद्र व्यवहार गर्ने तथा हतियार खोस्नेमध्ये संलग्नलाई पक्राउ गर्ने कार्यलाई अझ तीव्रता दिइएको एसपी पुरीले बताए।
भदौ २४ गतेको घटनामा जिल्ला प्रशासन कार्यालय, मालपोत, आन्तरिक राजस्व, अदालत, सरकारी वकिल, पूर्वाधार कार्यालयसहित दर्जनभन्दा बढी सरकारी निकायमा आगजनी तथा तोडफोड भएको थियो। जिल्लाका ७ पालिकामध्ये माडी नगरपालिकाबाहेक सबै स्थानीय तह प्रभावित भएका थिए।
सरकारी कार्यालय र निजी घरका मालिकले क्षतिको विवरणसहित उजुरी दिएका छन्। संलग्न जो–कोहीलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइने जनाउँदै एसपी पुरीले पक्राउ परेकालाई छोड्नका लागि कुनै पनि प्रकारको दबाब नदिन आग्रह गरे।
२४ गतेको घटनापछि हातहतियारसहित समुदायमा गएर आतंक फैलाउने, तर्साउने कार्यमा संलग्न ११ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूविरुद्ध अभद्र व्यवहार लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ।
जेनजी आन्दोलनपछि मोटरसाइकल मोडिफाइ गरी ठूलो आवाज निकालेर आतंक फैलाउने प्रवृत्ति देखिएपछि प्रहरीले कात्तिक महिनामा मात्र ६१ वटा मोटरसाइकल र ५ जनालाई नियन्त्रणमा लिएको छ। मोटरसाइकल मोडिफाइ गर्ने ३ जना वर्कसप सञ्चालक पनि पक्राउ परेका छन्।–00–

