चितवन । चितवन मेडिकल कलेज (सीएमसी) शिक्षण अस्पतालले अत्याधुनिक रोबोटिक सर्जरी सेवा सुरु गरेको छ। राजधानी बाहिर पहिलोपटक र नेपालमै दोस्रो रोबोटिक सर्जरी सेवा सीएमसीले सञ्चालनमा ल्याएको हो।
अस्पतालका रोबोटिक तथा युरो सर्जन डा. प्रतीकमान सिंह गुरुङ, जिआइ सर्जन डा. विशाल आचार्य र डा. रोहितकुमार मिश्र नेतृत्वमा सेवा प्रारम्भ गरिएको सीएमसीले जनाएको छ। सेवा सुरु भएको केही समयमै अस्पतालले १४ वटा रोबोटिक सर्जरी सम्पन्न गरिसकेको छ।

डा. गुरुङका अनुसार रोबोटिक शल्यक्रिया परम्परागत वा दुरबिन प्रविधिको तुलनामा धेरै सटिक, सुरक्षित र आधुनिक हुन्छ। “रोबोटिक सर्जरी चिकित्सा विज्ञानको अत्याधुनिक प्रविधि हो,” डा. गुरुङले बताए। रोबोटले पूर्ण रूपमा स्वतन्त्र रूपमा काम नगर्ने, बरु सर्जनले कम्प्युटरमार्फत नियन्त्रण गर्दै शल्यक्रिया सञ्चालन गर्ने उनले स्पष्ट पारे।
रोबोटिक प्रणालीको उपयोगले अत्यन्त सूक्ष्म तथा संवेदनशील शल्यक्रिया गर्न सकिने, शरीरका अन्य भागमा न्यून क्षति पुग्ने र उपचारको गुणस्तर अझ प्रभावकारी हुने चिकित्सकहरूको भनाइ छ।
न्यूनतम पीडा, कम रक्तश्राव, छोटो अस्पताल बसाइ र छिटो स्वास्थ्य लाभका कारण रोबोटिक सर्जरी विशेषगरी युरोलोजी, गाइनकोलोजी, कार्डियोथोरासिक तथा क्यान्सर सर्जरीमा बढी उपयोग भइरहेको डा. गुरुङले बताए।

उनका अनुसार रोबोटिक उपकरणहरू अत्यन्त संवेदनशील भएकाले मानव हातले गर्न कठिन हुने सूक्ष्म शल्यक्रिया पनि यस प्रविधिबाट सम्भव हुन्छ। सानो प्वालमार्फत शल्यक्रिया हुने हुँदा शरीरमा दाग पनि कम देखिने र बिरामी छिट्टै सामान्य अवस्थामा फर्कने उल्लेख गरियो।
यद्यपि रोबोटिक सर्जरी सामान्य शल्यक्रियाभन्दा केही महँगो पर्ने भए पनि अस्पताल बसाइको अवधि घट्ने, घाउ छिटो निको हुने तथा जोखिम न्यूनीकरणसमेत हुने भएकाले समग्रमा बिरामीका लागि लाभदायक हुने चिकित्सकहरूको निष्कर्ष छ।
सीएमसीका प्रमुख प्रशासक प्रताप देवकोटाले अस्पतालले भित्र्याएको रोबोटिक प्रणाली चीनको माइक्रोपोर्ट कम्पनीले निर्माण गरेको ‘टुमाइ’ मोडेल भएको बताए। करिब ३२ करोड रुपैयाँ लागतमा भित्र्याइएको यो प्रविधिले युरोपियन सेफ्टी सर्टिफिकेशन प्राप्त गरिसकेको र सुरक्षा मापदण्ड अत्यन्त उच्च रहेको उनले जानकारी दिए।


