सिन्धुपाल्चोक — एक सातादेखि अवरुद्ध मेलम्ची खानेपानी आयोजनाको पानी आजदेखि पुनः काठमाडौँमा पथान्तरण हुने भएको छ। आन्दोलनरत पीडित र सरकारबीच गएराति भएको वार्ता सफल भएपछि अवरोध हटाइएको हो।
कात्तिक २० गतेदेखि मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथानमा पुगेर माग पूरा नभएको भन्दै पीडितहरूले पानी पथान्तरण रोकेका थिए। तर शहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङको उपस्थितिमा भएको वार्तामा सहमति जुटेपछि समस्या समाधान भएको हो। वार्तामा खानेपानी मन्त्रालय, मेलम्ची खानेपानी विकास समिति, सडक विभागका प्रतिनिधिहरू र स्थानीय पीडितहरू सहभागी थिए।
सहमति अनुसार, २०७८ असारमा आएको विनाशकारी बाढीले क्षति पु¥याएका भौतिक संरचना तथा व्यक्तिगत सम्पत्तिको वास्तविक मूल्यांकन जिल्ला विपद् व्यवस्थापन समितिमार्फत तीन महिनाभित्र गरिनेछ। मूल्यांकनमा पीडित पक्षका तीन जना प्रतिनिधि समेत रहने व्यवस्था गरिएको छ।
त्यसैगरी, मेलम्ची खानेपानी आयोजनाबाट उठ्ने लेबी (शुल्क) सम्बन्धी प्रस्ताव ४५ दिनभित्र मन्त्रिपरिषदमा पेश गरिने भएको छ। मेलम्ची–हेलम्बु एकीकृत विकास कार्यक्रम आगामी आर्थिक वर्षदेखि सुरु गर्ने सहमति पनि भएको छ।
खानेपानीको मुहानसम्म पुग्ने सडकका लागि यसअघि २५ करोड रुपैयाँ मात्र विनियोजन गरिएकोमा अब बजेट बढाएर १ अर्ब रुपैयाँसहित बहुवर्षीय ठेक्काबाट निर्माण गर्ने निर्णय भएको छ।
वार्ता सफल भएपछि आन्दोलनरत पीडितहरूले मुहान क्षेत्र खुला गर्ने निर्णय गरेका छन्। त्यससँगै आजदेखि मेलम्चीको पानी पुनः काठमाडौँमा पथान्तरण हुने भएको हो।


