काठमाडौं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा खेलकुद पूर्वाधार र संरचना विकासमा उल्लेख्य ध्यान दिने घोषणा गरेको छ। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मंगलबार संसदमा बजेट प्रस्तुत गर्दै खेल क्षेत्रलाई निजी क्षेत्रको समेत सहभागिता सहित सशक्त बनाउने योजना सार्वजनिक गरेका हुन्।
बजेट भाषणको मुख्य आकर्षणमध्ये एक बनेको छ — चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालाका लागि गरिएको सशर्त अनुदानको व्यवस्था। अर्थमन्त्री पौडेलका अनुसार, उक्त रंगशालामा सिर्जित सम्पत्तिको मूल्यांकन त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानबाट गरिनेछ। मूल्यांकनको आधारमा सरकारले सशर्त अनुदान उपलब्ध गराउने निर्णय लिएको हो।
यो कदमले लामो समयदेखि अलपत्र अवस्थामा रहेको रंगशालालाई अगाडि बढाउने अपेक्षा गरिएको छ। रंगशालाको निर्माण कार्य रोकिएको, वा अन्योलमा रहेको भन्ने चिन्ताबीच सरकारले चालेको यो कदमलाई सकारात्मक संकेतका रूपमा लिइएको छ।
अन्य रंगशालामा पनि लगानी-
सरकारले काठमाडौंको मुलपानी, मोरङ, कैलाली र रुपन्देही जिल्लामा निर्माणाधीन रंगशालाहरुका लागि ४२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। साथै, कीर्तिपुरको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्तरोन्नतिका लागि ४० करोड रुपैयाँ छुट्याइएको छ।
त्यस्तै, झापाको दमकमा अन्तर्राष्ट्रियस्तरको आधुनिक रंगशाला निर्माण गर्ने योजना पनि बजेटमार्फत सार्वजनिक गरिएको छ। खेल क्षेत्रमा निजी क्षेत्रलाई समेत आकर्षित गर्ने नीति सरकारको प्राथमिकतामा परेको अर्थमन्त्री पौडेलले बताए। यसले खेलकुद क्षेत्रको दिगो विकास, व्यवसायिक सम्भावना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सहभागिता बढाउने सम्भावना बोकेको छ।


