चितवन । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रसहित नेपाली हस्पिटालिटी क्षेत्रमा अग्रणी होटल ब्रान्ड ‘पौवा’ले आफ्नो १६ औं शाखा चितवनको भरतपुरमा भव्य समारोहबीच सञ्चालनमा ल्याउने तयारी गरेको छ।
नयाँ शाखाको उद्घाटनसँगै कात्तिक २७, २८ र २९ गते तीनदिनसम्म ‘नेपाली खाना प्रवर्द्धन (Food Exhibition)’ नामक बृहत् कार्यक्रम हुने भएको छ। उक्त प्रदर्शनीमा देशभरका पौवा शाखाका सेफहरूले आफ्ना सिर्जनात्मक खाद्य–कला र नेपाली स्वाद प्रस्तुत गर्नेछन्।
होटल पौवाका ब्रान्डिङ विभाग प्रमुख विष्णु भण्डारीका अनुसार उद्घाटन समारोह र खाना प्रवर्द्धन कार्यक्रममा चितवन, नवलपुर र आसपासका झण्डै ४० हजार पाहुनालाई निमन्त्रण गरिएको छ। “पौवाको विशिष्ट स्वाद, नेपालीपनको सेवा र आतिथ्यको वास्तविक अनुभव सहभागीहरूले प्रत्यक्ष रूपमा लिन सक्नेछन्,” भण्डारीले जानकारी दिनुभयो।
भरतपुर शाखामा १७ वटा लक्जरी कोठासहितको छुट्टै ब्लक, आकर्षक रेस्टुरेन्ट, बालबालिकाका लागि खेल्ने क्षेत्र, सुन्दर गार्डेन र प्रशस्त पार्किङ सुविधा रहेको छ। विवाह, ब्रतबन्ध र कर्पोरेट कार्यक्रमका लागि दुईवटा विशाल हल, साना बैठक र पारिवारिक भेटघाटका लागि १० वटा छुट्टाछुट्टै हल उपलब्ध छन्। निकट भविष्यमै थप १२ कोठाको आवास भवन निर्माणाधीन अवस्थामा छ। साथै, सौराहा, मौलाकाली, मनकामना लगायत धार्मिक तथा पर्यटकीय गन्तव्यहरू समेटिएका विशेष टुर प्याकेज पनि उपलब्ध हुने छन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि पौवाले पर्यटन र आतिथ्य व्यवसायलाई देशभर विस्तार गर्दै आएको बताउनुभयो। “नेपाल पर्यटकीय सम्भावनाले भरिएको मुलुक हो। यहाँ आउने हरेक पर्यटकले पहिलो अनुभव हस्पिटालिटीको लिनुपर्छ,” उहाँले भन्नुभयो, “त्यसैले पौवाले ‘आतिथ्यता र स्वाद’लाई आफ्नो मिशनको केन्द्रमा राखेको छ।”
पौवाका उपाध्यक्ष ध्रुवराज न्यौपानेका अनुसार ब्रान्डले नेपाली स्वादलाई विश्वस्तरमा पुर्याउने अभियान चलाइरहेको छ। “नेपालमा ‘केही हुँदैन’ भन्ने सोच तोड्नुपर्छ। विषम परिस्थिति हुँदाहुँदै पनि हामीले १०० शाखा विस्तार गर्ने लक्ष्यसहित नेपाली चेन होटललाई अन्तर्राष्ट्रियकरणतर्फ डो¥याइरहेका छौँ,” उहाँले बताउनुभयो।
प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले चितवन शाखालाई नेपालको हस्पिटालिटी नक्सामा अर्को महत्वपूर्ण माइलस्टोनका रूपमा वर्णन गर्दै भन्नुभयो, “चितवन नेपालको मध्य भाग हो—देशभरका आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख गन्तव्य। यहाँ पौवाको उपस्थितिले यस क्षेत्रलाई अझ पहिचान दिन सहयोग गर्नेछ।”
विदेशी शैलीका होटलहरू हावी भइरहेका बेला ‘होटल पौवा’ले नेपाली सत्कार, संस्कार र स्वादको अनुभूति दिने उद्देश्यसहित आतिथ्य क्षेत्रमा नयाँ परिभाषा ल्याएको ज्ञवालीले बताए।
रुपन्देहीको सालझण्डीबाट सुरु भएको पौवाको यात्रा अहिले चितवनमा १६औं शाखासम्म पुगेको छ। यसअघि पौवाका शाखाहरू भैरहवा, बुटवल, गोरुसिङ्गे, भालुवाङ, लमही, घोराही, जुम्ला, तानसेन, रेसुङ्गा, धनगढी, पोखरा, काठमाडौं, मुलकोट र कालिञ्चोकमा सञ्चालनमा छन्।
हाल नेपालगञ्जमा पाँचतारे होटलको मुख्य आवास भवन निर्माणाधीन छ भने बैंक्वेट र रेस्टुरेन्ट सेवा सञ्चालनमा छन्। पाल्पाको झिंगामारामा पाँचतारे रिसोर्ट निर्माणको तयारी भइरहेको छ।
नेपाली परिकार प्रवर्द्धनका लागि पौवाले “भातभान्छा” नामक छुट्टै ब्रान्ड सुरु गरेको छ, जसलाई महिला सेफहरूले सञ्चालन गरिरहेका छन्। यसमार्फत नेपालगञ्ज र भैरहवामा दाल, भात, तरकारी र अचारजस्ता परम्परागत परिकारलाई आधुनिक रेस्टुरेन्ट शैलीमा पस्किने गरिएको छ।
देशभर १,००० भन्दा बढी रोजगारी सिर्जना गर्दै आएको होटल पौवामा २५० भन्दा बढी लगानीकर्ता संलग्न छन्। कर्मचारीहरूलाई पनि लगानीकर्ता बन्ने अवसर दिइँदै आएको छ, जसले ‘साझा स्वामित्व र साझा सफलता’को अवधारणा प्रतिबिम्बित गर्छ।
विश्वशान्तिका दूत गौतम बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको पौवाको यात्रा अहिले देशव्यापी अभियानमा रूपान्तरण भइसकेको छ। ‘मिशन १०० पौवा होटल’ अभियानसँगै चितवन शाखाबाट पौवाले हस्पिटालिटी र स्वादको नेपाली पहिचानलाई विश्वमाझ पु-याउने नयाँ अध्याय सुरु गरेको छ।


