चितवन । चितवन फोटोग्राफी संघले आफ्नो ४६औं स्थापना दिवस भव्य रूपमा मनाउने तयारी गरेको छ। संघले यस अवसरमा भरतपुरको चौविसकोठीमा वृहत रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ।
संघका अध्यक्ष हरि पन्तका अनुसार, रक्तदान कार्यक्रमपूर्व बिहान प्रभातफेरी कार्यक्रम आयोजना गरिनेछ। प्रभातफेरी नारायणगढको लायन्सचोकदेखि भरतपुरको चौविसकोठी पुगेर औपचारिक कार्यक्रममा परिणत हुनेछ।
संघका उपाध्यक्ष कृष्ण साकोटाका अनुसार, यस वर्षको प्रभातफेरीलाई ट्राफिक सचेतना कार्यक्रमका रूपमा सञ्चालन गरिनेछ। हालका वर्षहरूमा सवारी दुर्घटनाको दर बढ्दै गएकाले जनचेतना अभिवृद्धिका लागि यस्तो कार्यक्रमको आवश्यकता देखिएको उनले बताए।
कार्यक्रम विहान साढे ७ बजेदेखि सुरु हुने तयारी गरिएको छ। कार्यक्रमको उद्घाटन भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले गर्ने छन्।
प्रभातफेरी र रक्तदानसँगै शुभकामना आदान–प्रदान कार्यक्रम समेत आयोजना गरिने संघका सचिव रमेश घिमिरेले जानकारी दिए।
यसअघि पनि संघले आफ्नो स्थापना दिवसको अवसरमा नियमित रूपमा रक्तदान कार्यक्रमहरू आयोजना गर्दै आएको छ।
चितवन फोटोग्राफी संघ चितवनका फोटोग्राफरहरूको छाता संस्थाका रूपमा कार्यरत रहँदै आएको छ र पेशागत सुरक्षा तथा क्षमता अभिवृद्धि लगायतका क्षेत्रमा निरन्तर क्रियाशील छ।



–00–


