गणेशमान सिंहको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । विसं २०४६ सालको ऐतिहासिक जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली राजनीतिका महान् नेता गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

त्याग, साहस र सादगीका प्रतीकका रूपमा परिचित सिंह नेपाली राजनीतिमा सबैको निष्ठा र सम्मानको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गरे पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै त्यागको अद्वितीय उदाहरण प्रस्तुत गरेका थिए।

नेता गणेशमान सिंहको जन्म विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा भएको हो। उनको निधन विसं २०५४ असोज २ गते भएको थियो।

नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद् का सदस्यका रूपमा उनले राणा शासनविरुद्धको आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे। त्यस क्रममा उनलाई कैयौं पटक कारागारमा थुनियो। विसं २००७ अघि भद्रगोल जेल फोडेर भाग्न सफल भएका सिंह भारत पुगेर बिपी कोइरालासँग मिलेर नेपाली राष्ट्रिय कांग्रेस – पछिल्लो नेपाली कांग्रेस) को स्थापना र सञ्चालनमा महत्वपूर्ण योगदान दिए।

विसं २००७ सालको क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका उनी लोकतन्त्रको स्थापनादेखि पुनर्स्थापनासम्म सधैं अग्रपङ्क्तिमा रहे। बिपी कोइरालाप्रति सैद्धान्तिक रूपमा निष्ठावान् रहेका सिंहले नेपाली कांग्रेसलाई जनताको दलका रूपमा स्थापित गर्न जीवनभर योगदान दिए।

विसं २०१५ को पहिलो आम निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका उनले विसं २०१७ को कूपछि आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजलमा बन्दी जीवन बिताए। विसं २०३३ सालमा बिपीसँगै राष्ट्रिय एकता र मेलमिलाप नीति लिएर स्वदेश फर्किएर पुनः पञ्चायती शासनविरुद्ध सक्रिय बने।

बिपीको निधनपछि कांग्रेसको नेतृत्व सम्हालेका सिंहले विसं २०४२ को सत्याग्रह आन्दोलन र त्यसपछि विसं २०४६ को जनआन्दोलनमा निर्णायक भूमिका खेले। जनआन्दोलनका सर्वोच्च कमाण्डरका रूपमा उनले कम्युनिस्ट दलहरूसँग सहकार्य गरी पञ्चायती शासनको अन्त्य सम्भव बनाएका थिए।

उनीलाई विसं २०१७ पुस १ गतेको कूपपछि विसं २०२५ सम्म बिपी कोइरालासँगै सुन्दरीजल बन्दीगृहमा राखिएको थियो। पछि विसं २०३३ सालमा स्वदेश फर्किँदा पुनः सुन्दरीजलमा थुनिएको थियो। सो बन्दीगृहलाई विसं २०६१ भदौ २४ गते बिपी संग्रहालय मा रूपान्तरण गरिएको थियो।

उनको जन्मजयन्तीका अवसरमा आज नेपाली कांग्रेस सहितका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरूले देशभर श्रद्धाञ्जलि सभा, पुष्पगुच्छा अर्पण तथा विभिन्न स्मरण कार्यक्रम आयोजना गर्दै छन्।–00—

Share:

सम्बन्धित समाचारहरु