धनगढी, १७ साउन । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकामा एक १७ वर्षीया किशोरीको चक्कु प्रहार गरी हत्या गरिएको छ । बर्दगोरिया–३ घर भएकी याचना सेजवालको हत्या भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सेजवाल बर्दगोरिया–१ स्थित राजधानी सेकुवा एण्ड म:म सेन्टरमा काम गर्दै आएकी थिइन् । सोही सेन्टरमा कार्यरत ३३ वर्षीय नृप साउदले शनिबार बिहान करीब १० बजे सेजवालमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनापछि गम्भीर घाइते भएकी सेजवाललाई उपचारका लागि तत्काल धनगढीस्थित निसर्ग हस्पिटल लगिएको थियो । तर उपचारको क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए ।
हत्या आरोपमा साउदलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । याचना सेजवालको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।–00–


