सुधन गुरुङको नागरिकता छानबिनको माग, एक साताभित्र नतिजा सार्वजनिक गर्न युवा संघको अल्टिमेटम

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठक काठमाडौंमा बसेको छ। अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकले संगठन सुदृढीकरण र आगामी कार्ययोजना तय गर्नुका साथै केही तात्कालिक राजनीतिक मुद्दामा निर्णय गरेको हो।

संघका प्रवक्ता निरोज पौडेलका अनुसार बैठकले “हामी नेपाल” का संयोजक सुधन गुरुङको नागरिकता नक्कली भएको आशंका व्यक्त गर्दै सरकारले एक साताभित्र छानबिन गरी नतिजा सार्वजनिक गर्न अल्टिमेटम दिएको छ।

प्रवक्ता पौडेलले भने, “सुधन गुरुङको नागरिकता सक्कली हो कि नक्कली हो भन्ने विषयमा सरकारले छानबिन गरेर सात दिनभित्र नतिजा ल्याओस्। यदि सरकारले चासो नदिने हो भने युवा संघले स्वयं प्रमाणसहित प्रहरीमा बुझाएर कानुनी कारबाही प्रक्रिया अघि बढाउनेछ।”

बैठकले हालैको जेनजी आन्दोलनका क्रममा भएको क्षतिप्रति पनि गम्भीर ध्यानाकर्षण जनाएको छ। सो क्रममा आन्दोलनको नाममा देशभर भएका तोडफोड र आगजनीका घटनामा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन सरकारसँग माग गरिएको छ।

त्यसैगरी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको घरमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई पुनर्निर्माण गर्ने निर्णय गरेको छ। बैठकका अनुसार ओलीको घर तेह्रथुमको आठराईमा पुनः निर्माण गर्ने अभियान सुरु गरिनेछ।

प्रवक्ता पौडेलले बैठकले संगठनलाई अझ सक्रिय र अनुशासित बनाउन रणनीतिक योजना तयार पारेको समेत जानकारी दिए।  –000–

Share:

सम्बन्धित समाचारहरु