सुरक्षण मुद्रण केन्द्रबाट ड्राइभिङ लाइसेन्स छपाइ सुरु

काठमाडौं — काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) छपाइ कार्य औपचारिक रूपमा सुरु भएको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रमा आयोजित कार्यक्रममा लाइसेन्स छपाइको सुरुआत गरेका हुन्। यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार हाल दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने जनाएको छ।

मन्त्री खरेलका अनुसार आगामी ६ महिनाभित्र छाप्न बाँकी सबै लाइसेन्स तयार गरी सेवाग्राहीलाई वितरण गर्ने योजना रहेको छ। उनले भने, “लाखौं सेवाग्राही कागजी लाइसेन्स बोक्नुपर्ने अवस्थाको अब अन्त्य हुन्छ।”

उनले यसअघि एक लाइसेन्स छपाइको लागत ३ सय रूपैयाँ पर्नेमा अब केन्द्रमार्फत छापिने लाइसेन्सको लागत २ सय रूपैयाँमा झर्ने जानकारी दिए।

मन्त्री खरेलले वर्षौंदेखि थन्किएका मेसिन र उपकरणहरूलाई प्रयोगमा ल्याइएको बताए। उनका शब्दमा, “मेसिनहरू धुलाम्मे र ठाउँ खण्डहर जस्तै बनेको थियो। धुलो टकटक्याएर छपाइ सुरु गरेका छौं।”

सुरक्षण मुद्रण केन्द्रका मेसिनहरूबाट राष्ट्रिय परिचयपत्र, राहदानी, लालपुर्जा, विभिन्न स्टिकर, हुलाक टिकटलगायतका सरकारी कागजात पनि छाप्न सकिने उनले बताए। “हाल २८ लाख ड्राइभिङ लाइसेन्स छाप्नुपर्ने अवस्था छ,” मन्त्री खरेलले उल्लेख गरे।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार विभिन्न कानुनी र प्राविधिक समस्या समाधानपछि छपाइ कार्य सुरु गरिएको हो। पहिलो चरणमा १२ लाख प्रति छपाइको सम्झौता अनुसार आजदेखि काम सुरु गरिएको र दैनिक क्षमता क्रमशः बढाइने उनले बताए।

ढुंगानाले भने, “आजैदेखि नागरिकता, अन्तशुल्क स्टिकर, हुलाक टिकट, लालपुर्जा र भिसा स्टिकर छपाइ पनि गर्न सकिनेछ।” सुरक्षण मुद्रण केन्द्रमा हालसम्म करिब तीन अर्ब रुपैयाँ लगानी भएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु