धार्मिक अध्ययन भ्रमण : गणेशधाममा होली भिजन स्कुलका बालबालिकाको सहभागिता

रेशम सापकोटा – सेतो नेपाल
चितवन १९ कार्तिक। भरतपुर महानगरपालिकाले विद्यालयस्तरमै स्थानीय पहिचान, संस्कृति र धार्मिक सम्पदालाई अध्ययनमा समावेश गरेसँगै महानगरभित्रका विद्यालयहरूले विद्यार्थीलाई प्रत्यक्ष अवलोकनमार्फत शिक्षण सुरु गरेका छन्। सोही क्रममा भरतपुर–४, यज्ञपुरस्थित होली भिजन पब्लिक स्कुलका कक्षा दुई र तीनका करिब १०४ जना विद्यार्थीहरूले बुधबार भरतपुर–११ गणेशस्थानस्थित ऐतिहासिक तथा धार्मिक गणेशधाम संरक्षण सम्बर्धन समिति परिसरको भ्रमण गरेका छन्।

नयाँ स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरूले आफ्नै समुदायसँग सम्बन्धित धार्मिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक पक्षको अध्ययन गर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसअनुरूप होली भिजन पब्लिक स्कुलले आफ्ना विद्यार्थीहरूलाई व्यवहारिक अध्ययनको हिस्सा स्वरूप यस धार्मिक स्थलको भ्रमण गराएको विद्यालयका शिक्षक गोपाल कंडेलले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा विद्यार्थीहरूले शिक्षकहरूको साथमा गणेश मन्दिर परिसर अवलोकन गर्दै स्थानीय धार्मिक संस्कृतिको अध्ययन गरेका थिए। मन्दिरका पुजारीहरूले विद्यार्थीहरूलाई टिका र प्रसाद प्रदान गर्नुभएको थियो,भने शिक्षक विद्यार्थीहरूले लोकगीत,भजन–कीर्तन र नाचगानमा सहभागिता जनाउँदै धार्मिक वातावरणलाई झनै उल्लासमय बनाएका थिए।

विद्यार्थीहरूले मन्दिर परिसरका मूर्तिहरू अगाडि रहेका घन्टीहरू बजाउँदै आस्था र भक्ति प्रदर्शन गरेका थिए। उनीहरूको अनुहारमा धार्मिक स्थलप्रतिको जिज्ञासा, उत्साह र संस्कृतिप्रतिको सम्मान झल्किएको शिक्षक सीता पौडेलले बताउनु भयो ।

भरतपुर महानगरपालिकाले विद्यालयस्तरमै स्थानीय स्रोत, सांस्कृतिक सम्पदा र धार्मिक स्थलहरूको अध्ययनलाई प्राथमिकता दिएको जनाएको छ। यस्ता भ्रमण र अध्ययन कार्यक्रमहरूले विद्यार्थीहरूमा आफ्नै संस्कृति र सम्पदाप्रतिको गर्व, स्थानीय ज्ञानप्रतिको रुचि र व्यावहारिक शिक्षाको विकासमा ठुलो योगदान पुर्‍याउने महानगरको विश्वास छ।

होली भिजन पब्लिक स्कुलका प्रधानाध्यापक मिनराज बस्ताकोटीले यस्ता क्रियाकलापले विद्यार्थीहरूमा सामुदायिक शिक्षाको भावना र व्यावहारिक सीप विकास हुने बताउँदै आगामी दिनमा पनि स्थानीय सम्पदासँग सम्बन्धित अध्ययन भ्रमणलाई निरन्तरता दिइने जानकारी दिनुभयो । –00–

 

 

Share:

सम्बन्धित समाचारहरु