काठमाडौं । जेनजी आन्दोलनका क्रममा भक्तपुरको जगातीस्थित प्रहरी चौकीमा आगजनी गरेको आरोपमा संलग्न रहेका आठ जनाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।
प्रहरीका अनुसार आत्मसमर्पण गर्नेहरूमध्ये काभ्रे भुम्लु–३ का रामशरण परियार (३४), काभ्रे बनेपा–४ का रुपक परियार (३२), र सर्लाही लबन्दी–६ का होमबहादुर खत्री (२६) रहेका छन्। उनीहरू हाल भक्तपुरको हनुमानघाट र दार्जिलिङ हाइट क्षेत्रमा बसोबास गर्दै आएका थिए।
यस्तै, काभ्रे नमोबुद्ध–१ का अमृत सुनुवार (२२) र महोत्तरी सोनाम–८ का प्रालद कुमार ठाकुर (१८) ले पनि आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ। यी दुईजना हाल भक्तपुरको बम्हायणीमा बस्दै आएका थिए।
त्यसैगरी, भक्तपुर नगरपालिका–८ का राजन माक (२३), सर्लाहीका सरोज बम्जन (१६) — हाल भक्तपुर भातेढिकुर निवासी — र काभ्रे नमोबुद्ध–६ का विकास तामाङ (२२) — हाल भातेढिकुर बसोबास गर्दै आएका — ले समेत आत्मसमर्पण गरेका हुन्।
प्रहरीले उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिएको जनाएको छ।–00–


