१५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धतापछि बञ्चरेडाँडामा फोहोर फाल्नदिन स्थानीय सहमत

काठमाडौँ । सहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटका बासिन्दासँग १५ दिनभित्र उनीहरूको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्। मन्त्रीको सो आश्वासनपछि स्थानीयले फोहोर फाल्न अनुमति दिएका छन्।

बञ्चरेडाँडाका स्थानीयबासीले चार दिनअघि फोहोर व्यवस्थापन रोक्दै आन्दोलन गरेका थिए। त्यसपछि काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै महानगरबासीलाई घर बाहिर फोहोर ननिकाल्न आग्रह गरेको थियो।

शुक्रबार शहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका पालिका प्रतिनिधि र सरोकारवालासँगको छलफल निष्कर्षविहीन भएपछि समस्या समाधानका लागि मन्त्री घिसिङ आइतबार बिहान स्वयम् बञ्चरेडाँडा पुगेका हुन्।

त्यहाँ स्थानीयबासी र ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग भेटमा मन्त्री घिसिङले अघिल्ला सहमति १५ दिनभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङका अनुसार मन्त्री घिसिङले अघिल्ला निर्णयहरू कार्यान्वयन गर्न नसकिएको स्वीकार गर्दै उक्त अवधि भित्र कार्यान्वयन गर्ने आश्वासन दिएका हुन्। अध्यक्ष तामाङले भने, “मन्त्रीज्यूले १५ दिनभित्र सबै सहमति कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनुभयो। यदि सो अवधिभित्र माग पूरा नभए स्थानीयले पुनः विरोध गर्ने अधिकार रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।”–00–

Share:

सम्बन्धित समाचारहरु