नवलपुरमा अविरल वर्षाले दाउन्ने सडक हिलाम्य, पाँच सयभन्दा बढी सवारी जाममा

नवलपुर, कात्तिक । लगातार चार दिनदेखिको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडक खण्ड हिलाम्य बनेको छ। हिलोमा सवारी साधन फस्न थालेपछि सो खण्डमा आवागमन एकतर्फी र अत्यन्त कठिन बनेको नवलपुर प्रहरीले जनाएको छ।

शनिबार राति विनयी त्रिवेणी गाउँपालिका–२ स्थित घ्यु खोलाको हिलोमा ट्रक फसेर राजमार्ग राति ९ बजेसम्म अवरुद्ध भएको थियो। सो सडक आइतबार बिहान पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (प्रनाउ) मधु नेपालले जानकारी दिनुभयो।

आज फेरि विनयी त्रिवेणीकै त्रिसट्ठी मोड र ज्यामिरेचोक क्षेत्रमा पनि सडक अवरुद्ध भएको छ। नेपालगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश–०३००१ ख–०९५२ नम्बरको सिमेन्ट लोड ट्रक बिग्रिएपछि सडक रोकिएको हो। सोही स्थानमा दाङबाट नारायणघाटतर्फ जाँदै गरेको म–१–ख–७४४ नम्बरको अर्को ट्रक पनि बिग्रिएको प्रहरीले जनाएको छ।

त्यस्तै, काठमाडौँबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश–०२००१ ख–०७७६ नम्बरको बस, काठमाडौँबाट बर्दिया जाँदै गरेको ना–७–ख–६६६४ नम्बरको खाली ट्रक र नवलपरासीबाट चितवनतर्फ जाँदै गरेको ना–७–ख–६०५३ नम्बरको खाली ट्रक समेत बिग्रिएपछि सडक थप अवरुद्ध भएको हो।

हिलोमा पाँच वटा सवारी साधन फसेका कारण अहिले दाउन्ने सडक खण्डमा सवारीको लामो जाम देखिएको प्रहरीको भनाइ छ। प्रनाउ नेपालका अनुसार करिब पाँच सय सवारी साधन सडकमा रोकिएका छन्। “जाममा फसेका सवारी साधन हटाएर बाटो खुलाउने प्रयास भइरहेको छ,” उहाँले भन्नुभयो।

सडक हिलो र बिग्रिएका सवारीका कारण यात्रुहरूले दाउन्ने खण्डका १४ किलोमिटर पार गर्न ६ घण्टाभन्दा बढी समय लगाउनुपरेको गुनासो गरेका छन्। शनिबार दिनभर फसेको बा.प्र.०३–००१ ख–२१५८ नम्बरको माटो लोड ट्रक भने राति ९ बजे जेसीबीको सहयोगमा हटाइएपछि बाटो आंशिक रूपमा सञ्चालनमा आएको थियो।

तस्बिर : बोमलाल गिरी

–00–

Share:

सम्बन्धित समाचारहरु