पोखरा । केही समयदेखि सुस्त बनेको पोखराको पर्यटन क्षेत्र अहिले फेरि पर्यटकको घुइँचोले जीवन्त बनेको छ। दसैँ–तिहारको लामो बिदा, खुला हिमाल र अनुकूल मौसमका कारण पोखराका होटल, रेस्टुरेन्ट र अन्य पर्यटकीय स्थलहरूमा उत्साहजनक चहलपहल देखिएको छ। यसले पर्यटन व्यवसायीहरूमा नयाँ ऊर्जा र आशा जगाएको छ।
पोखरा अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्य, फेवातालको शान्त सौन्दर्य, प्याराग्लाइडिङ, बन्जी जम्प, जिप फ्लायर जस्ता साहसिक खेलहरूको प्रमुख केन्द्र मानिन्छ। साथै अन्नपूर्ण पदयात्रा र मुक्तिनाथ भ्रमणको प्रवेशद्वारका रूपमा पनि यो शहर देश–विदेशका पर्यटकको आकर्षणको केन्द्र बनेको छ।
अघिल्ला महिनामा आन्दोलन र प्रतिकूल मौसमका कारण सुस्त बनेको पोखराको पर्यटन अहिले मौसममा सुधार र लामो बिदाको प्रभावले पुनर्जीवित भएको पर्यटन व्यवसायीहरू बताउँछन्।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार, अहिले लेकसाइडका करिब ९० प्रतिशत होटल भरिएका छन्। उनले भने, “विभिन्न संकट झेल्दै आएको पोखराको पर्यटन अहिले केही राहतको अवस्थामा पुगेको छ। तिहारको समयमा आन्तरिकसँगै विदेशी पर्यटक पनि सन्तोषजनक संख्यामा आइरहेका छन्, जसले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपेको छ।”–00–

