काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आज चार जना नयाँ मन्त्री नियुक्त गर्न लागेको छ। नयाँ मन्त्रीहरूमा पर्यटन, स्वास्थ्य, युवा तथा खेलकुद, र श्रम मन्त्रालयका लागि नाम सिफारिस गरिएको छ।
पर्यटनमन्त्रीमा गणपतिलाल श्रेष्ठ, स्वास्थ्यमन्त्रीमा डा. सुधा गौतम, युवा तथा खेलकुदमन्त्रीमा बब्लु गुप्ता र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा खगेन्द्र सुनार नियुक्त हुने तयारी गरिएको छ। उनीहरूले आज साँझसम्म शपथ ग्रहण गर्ने तयारी गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।
डा. सुधा गौतम स्वास्थ्य मन्त्रालयकी पूर्व सचिव तथा स्त्रीरोग विशेषज्ञ हुन्। गणपतिलाल श्रेष्ठ सम्पदा संरक्षण अभियन्ता हुन् र उनले देशभरका विभिन्न क्षेत्रका पुरातात्त्विक सम्पदाको संरक्षणमा सक्रिय भूमिका खेलेका छन्।
खगेन्द्र सुनार दलित अधिकारका अभियन्ता हुन्। उनी दलित समुदायको हकहितका लागि लामो समयदेखि सक्रिय रहँदै आएका छन्। ‘दलित खै?’ भन्ने नारासहित उनले काठमाडौंमा नेल लगाएर अनौठो शैलीमा विरोध प्रदर्शन पनि गरेका थिए।
युवा तथा खेलकुदमन्त्रीका रूपमा सिफारिस भएका बब्लु गुप्ता सामाजिक कार्यमा सक्रिय छन्। उनले सहारा विहीन र विपन्न समुदायका लागि सहयोग गर्दै आएका छन् भने विद्यार्थीहरूलाई निःशुल्क पढाउनेजस्ता सामाजिक पहल पनि गरेका छन्।
प्रधानमन्त्रीले उनीहरूको नियुक्तिका लागि शीतल निवासमा सिफारिस पठाउने अन्तिम तयारी गरिरहेको स्रोतले जनाएको छ।—-


