काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाउँदै गएको छ। आज मंगलबार पुनः सुनको मूल्यमा ठूलो वृद्धि हुँदै इतिहासकै उच्च स्तरमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा रु ८,१०० ले बढेको हो। यो वृद्धि पछि सुनको मूल्य प्रतितोला रु २,४८,५०० कायम भएको छ, जुन अहिलेसम्मकै सबैभन्दा उच्च दर हो। यसअघिल्लो दिन सोमबार सुन प्रतितोला रु २,४०,४०० मा कारोबार भएको थियो। लगातार बढ्दो अन्तर्राष्ट्रिय बजार मूल्य र मागको प्रभावले नेपाली बजारमा पनि सुनको मूल्य उकालो लागिरहेको व्यवसायीहरूले बताएका छन्।
त्यस्तै, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदी प्रतितोला रु ९५ ले बढेर रु ३,३२५ मा कारोबार भइरहेको छ।
लगातार बढ्दो सुन–चाँदीको मूल्यले बजारमा रौनकता त ल्याएको छ, तर उपभोक्ताहरू भने उच्च मूल्यका कारण खरीदमा सतर्क देखिएका छन्।


